|

काठमाडौं : कानुनविद् डा. सूर्य सुवेदीले नेपालमा संसद् अवरुद्ध हुनु नहुने बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध पारिरहेका बेला उनले सो टिप्पणी गरेका हुन्।

शनिबार काठमाडौंमा आयोजित प्रा.सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनका ज्ञाता सुवेदीले संसदको जननी मानिएको बेलायतमा कहिल्यै संसद अवरुद्ध नहुने दृष्टान्त पेश गर्दै नेपालमा पनि अवरोध गर्न नमिल्ने तर्क गरे।

उनले संसदमा जति पनि कुरा राख्न पाइने हुनाले संसद अवरोध गर्न आवश्यक नभएको पनि स्पष्ट पारे। कानूनविद सुवेदीले नेपालका राजनीतिक दलहरुले संसद अवरोध गर्ने कुरालाई प्रजातान्त्रिक अभ्यास भन्ने गरेपनि त्यो वास्तविक प्रजातान्त्रिक अभ्यास नभएको जिकिर गरे।

नेपालमा धेरै कानून, धेरै विकास गर्नुपर्ने र जनतालाई इम्पावर गर्नुपर्ने भएकाले पनि संसद अवरुद्ध पार्ने काम गर्न नहुने उनको भनाइ थियो।

कानुनविद् सुवेदीले भने, ‘अब यो संसदीय प्रणालीलाई कसरी व्यवहारमा कार्यान्वयन गर्ने भन्ने चुनौतीहरु छ भन्ने मलाई लागेको छ। किनभने संसदीय प्रणाली के हो भन्ने कुरा म दुई वटा उदाहरण दिन्छु यहाँहरुलाई। नेपालमा चाहिँ संसद चलिरहेको बेला संसद अवरुद्ध गर्ने भन्ने छ। यदि बेलायत संसदको जननी मुलुक हो भने त त्यहाँको अभ्यास हामीले हेर्नुपर्‍यो। त्यहाँ संसद कहिल्यै अवरुद्ध हुँदैन। किन संसद अवरुद्ध हुँदैन भने पार्लियामेण्टमा जति पनि बोल्न पाइएको छ नि। सरकारको बिरोध गर्न पाईराखिएकै छ नि। किन संसद अवरुद्ध गर्ने ? नेपाल जस्तो देशमा त संसद अवरुद्ध हुनै हुँदैन।'

कानुनविद् सुवेदीले नेपालको संविधान संसदीय व्यवस्थाका लागि मूलभूत रुपमा ठिक भएको उल्लेख गर्दै त्यसलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने आफूले देखेको पनि बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.