|
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले क्रिकेट विकासमा सघाउन आफू नेपाल भ्रमणमा आएको बताएका छन्।

भारतको राजधानी नयाँ दिल्लीबाट आज (सोमवार) काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रिएका बार्कलेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए।

विमानस्थलमा उनले सञ्चारकर्मीसँग नेपालको क्रिकेटबारे बुझ्ने र यहाँको क्रिकेट खेल विकास होस् भन्ने आफ्नो भ्रमणको उद्देश्य रहेको बताए।

तीनदिने भ्रमणका क्रममा उनले नेपाली क्रिकेट संरचनाबारे बुझ्ने र निरीक्षण गर्ने जानकारी पनि दिए। उनले कीर्तिपुरस्थित त्रिवि र मूलपानीस्थित क्रिकेट मैदानको अवलोकन पनि गर्नेछन्।

नेपाल उत्कृष्ट एसोसिएट राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा व्यक्त गरे। नेपालमा क्रिकेट औधी लोकप्रिय रहेको र क्रिकेटको साथमै रहिरहन उनले क्रिकेट समर्थकसँग आग्रह गरे।

भ्रमणका क्रममा अध्यक्ष बार्कलेले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे पनि छलफल गर्नेछन्। 

लामो समय न्युजिल्यान्ड क्रिकेट बोर्डको नेतृत्व गरेका बार्कले सन् २०२० मा आईसीसीको अध्यक्ष भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.