|
फाइल फोटो

काठमाडौं : प्रदेश–२ मा आगामी २ असोजमा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई सदुपयोग गर्ने कि बहिष्कार गर्ने विषयमा राजपा नेपाल कुनै निर्णयमा पुग्न सकेको छैन। राजपा नेपालको आधार क्षेत्र मानिएको सो प्रदेशमा प्रमुख तीन दलसहित संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसमेतका दलले निर्वाचन केन्द्रित अभियान थालिसक्दा पनि राजपा नेपाल भने अलमलमै देखिन्छ।

राजपा नेपालले संविधान संशोधन, स्थानीय तहको संख्या जनसंख्याका आधारमा वृद्धि गर्नुपर्नेलगायत माग गर्दै पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको थियो। तेस्रो चरणको निर्वाचनमा सहभागी हुन राजपामाथि चर्काे दबाब छ।

तर, संसद्बाट तत्काल संविधान संशोधन नहुने पक्कापक्की भएकाले राजपा नेताहरू निर्वाचनमा के एजेन्डा लिएर जाने भनेर अलमलमा परेका हुन्। आन्दोलनरत राजपा नेपालसँग अहिले आन्दोलनका कार्यक्रम पनि केही छैनन्। प्रदेश–२ मा उसका कार्यक्रम अहिले शून्य अवस्थामा छन्।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरूसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा पार्टी सहभागी हुन तयार रहेको बताएका छन्। संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास ठाकुरले व्यक्त गरेका छन्।

राजपा नेपाल पर्साले शनिबार जिल्लाको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ताको सम्झौता सरकारले कार्यान्वयन गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा ठाकुरको रहेको छ।

संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पूरा गरे राजपा नेपाल स्थानीय तहको निर्वाचनमा सहभागी हुनसक्ने ठाकुरको भनाइ छ।

दलको मान्यता

निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाललाई राजनीतिक दलको मान्यता दिएको छ। शनिबार निर्वाचन आयोगको सचिवालयस्तरीय बैठकले मधेस केन्द्रित ६ दल मिलेर बनेको एकीकृत पार्टीलाई राष्ट्रिय जनता पार्टी नेपालको नाममा औपचारिक रूपमा दलको मान्यता दिएको हो।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको राजपा नेपाल र रवीन्द्र मिश्र संयोजक रहेको साझा पार्टीलाई राजनीतिक दलको मान्यता दिने निर्णय भएको जानकारी दिए। यद्यपि आयोगमा यी दुई दललाई चुनाव चिह्न भने दिइएको छैन। राजपा नेपालले छाता र साझा पार्टीले तराजु चुनाव चिह्न माग गरेका छन्। दल दर्ताको आधिकारिकता पाएपछि अब पार्टीको बैठक बस्ने र आगामी रणनीति तय गर्ने राजपा नेपालका महासचिव केशव झाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.