|

काठमाडौँ : नेपाल उद्योग परिसंघको आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ हुने भएको छ।

उद्योग परिसंघले आगामी चैत १७ र १८ गते चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भरतपुर महानगरपालिका, चितवन उद्योग संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए। उनले कृषि सम्मेलनको मुख्य उद्देश्य कृषिमा महिला उद्यमशीलताको प्रवर्धन गर्नु रहेको बताए।

उनले सम्मेलनमा कृषिमा नवप्रवर्तन, दिगोपन र उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषय, कृषि यन्त्रीकरण, नेपालको माटो सुहाउँदो कृषि विकास, दिगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्ममशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताए।

उनले समावेशी, सशक्तिकरण र समन्वयात्मक बललाई उच्च प्राथमिकतामा राख्दै कृषिमा महिलालाई प्रोत्साहन, उनीहरूका समस्या तथा समाधानका उपाय, कृषि अर्थतन्त्रमा महिलाको योगदानको कदर गरिनुपर्ने आवश्यकताको बोधसहित यो सम्मेलन महिला उद्यमशीलता र कृषिमा केन्द्रित गरिएको बताए।

परिसंघले सम्मेलनपछि कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकलाई अगाडि बढाउन लिनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझाव पेश गरिने बताएको छ। सम्मेलनको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वाला कुमारी साहले गर्ने परिसंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.