|

बागमती प्रदेशमा सत्तागठबन्धनको सरकार विस्तारमा निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (हानेपा)ले मुख्यमन्त्री मागेपछि शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अलमलमा परेको छ। एमाले–माओवादी–समाजवादी सत्तागठबन्धनलाई अत्यावश्यक हानेपाले मुख्यमन्त्रीमा दाबी गरेसँगै सत्तारुढ गठबन्धनमा समस्या उत्पन्न भएको हो।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सांसद चाहिन्छन्। एमाले, माओवादी र एकीकृत समाजवादीका कुल सांसद ५५ छन्। उनीहरूलाई थप १ जनाको समर्थन चाहिन्छ। प्रदेशसभामा हानेपाका शैलेन्द्र बज्राचार्य र सरिता खड्गी गरी दुई सांसद छन्। मुख्यमन्त्री जम्कट्टेलले हानेपा संसदीय दलका नेता बज्राचार्य र सरिता खड्गीलाई मन्त्री पदको शपथका लागि खबर गरेका थिए तर हानेपाले मुख्यमन्त्री पाए सरकार बनाउने, नत्र कसैलाई समर्थन नगर्ने निर्णय गरेसँगै बागमती सरकार पुनर्गठन पेचिलो बनेको छ।

दुई सिट रहेको हानेपाको मुख्यमन्त्रीमा दाबी किन ? यिनै विषयमा केन्द्रित रहेर थाहाकर्मी निशा गुरुङले हानेपा बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यसँग गरेको कुराकानी :

बागमतीको मुख्यमन्त्रीमा दाबी गर्नु भएको छ? निर्वाचनको म्याण्डेट थाहा नपाउनु भएको हो कि मौकामा दाउ थाप्नु भएको हो?

हामीले बागमती सरकारलाई दुईपटक विश्वासको मत दियौँ। त्यति वेला हाम्रो धेरै अवमूल्यांकन गरियो। बजेटमा सत्तापक्ष र प्रतिपक्षको विवादका कारण संसद् बैठक समेत बस्न सकेन। म सत्तापक्षमा बसे पनि मेरो क्षेत्रमा ३० लाख पनि बजेट थिएन तर मैले त्यसका लागि जोड दिइनँ।

सांसदको काम विधेयकसम्बन्धी जोडिन्छ तर सरकारले विधेयकमा महत्त्व दिएको देखिएन। बजेटका कारणले संसद् नचलेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा थियौँ। पछि हाम्रो विधेयक हस्तकलाग्रामसम्बन्धी ल्याउने कुरा भइसकेपछि हामीले निर्णय लिएका थिएनौँ, जब केन्द्रमा सत्ता समीकरण बदलियो उहाँहरूले हामी नभई नहुने अवस्था भएपछि मन्त्रीका लागि डाक्नुभएको थियो। हामीले छलफलमा छौँ भनेर गएनौँ। पछि हामीलाई सानो पार्टी भनेर उहाँहरूले मान्यता दिनुभएन। त्यसकारण हामी सरकारमा सहभागी नहुने निर्णय गर्‍यौँ।

विगतमा सरकारको कस्तो हेपाइमा पर्नुभएको हो?

हामीसँग सहकार्य नचाहने र बजेटमा मात्रै केन्द्रित विधेयकमा कुनै चासो नभएको देखियो। यसअघि मन्त्रालयको जिम्मेवारी दिन्छु भनेर कहिले कांग्रेसले गर्दा भएन त कहिले कसले गर्दा भएन भन्दै उहाँले पन्छाउनुभयो।

यसअघि मन्त्री नबनाएको रिस अहिले पोख्नुभएको हो?

त्यस्तो होइन। राजनीतिक दूरदर्शिता जरुरी थियो। समस्या धेरै छन्। जिम्मेवारी पाए हामीले पनि गर्न सक्छौँ भन्दै आएका हौँ। ठूलो दलको चित्तबुझ्दो काम कारबाही नभएपछि प्रतिपक्षमै बसेर काम गर्न सकिन्छ भनेर हो। उहाँहरूले पुराना कमजोरी अझै स्विकार्नुभएको छैन। मन्त्री बन्न आउनुस् भन्ने खालका कुरा मात्रै गर्नुभयो। कसरी अघि बढ्ने विषयमा छलफल गर्नुभएन। तीनवटै दलका नेताहरू मुख्यमन्त्रीको दौडमा हुनुहुन्छ। संसदीय दलका नेता भइसकेपछि मैले पनि दाबी किन नगर्ने भनेर दाबी गरेका हौँ।

मध्यरातमा कांग्रेसका महामन्त्री गगन थापासँग भेटेपछि विज्ञप्ति निकालेर मुख्यमन्त्रीमा दाबी गरेको भन्ने सुनिन्छ नि ?

हाम्रो गगन थापासँग मात्रै नभई एमाले र माओवादीका शीर्ष नेताहरूसँग भेट भएको छ। उहाँहरूले हाम्रो विचार बुझ्न खोज्नुभएको हो। निर्णय लिने त हामी हौँ। त्यसकारण भेट्दैमा सबै सकिन्छ भन्ने हुँदैन।

विज्ञप्तिमा सरकारमा जान्छौँ वा जाँदैनौँ भनेर ठोस निर्णय लिन सक्नु भएन नि?

हामी सरकारमा जाँदैनौँ भनेर विज्ञप्ति निकालेका छौँ। मुख्यमन्त्रीमै जिम्मेवारी दिए व्यवस्थापन र काम गर्ने क्षमता हामीसँग छ भनेर विज्ञप्ति निकालेका हौँ। सानो पार्टी, नयाँ पार्टीले काम गर्न सक्दैन भन्ने उहाँहरूको बुझाइलाई मौका पाए हामीले पनि गर्न सक्छौँ भन्ने सन्देश दिएका हौँ।

त्यसो भए बागमतीमा मुख्यमन्त्री पाए मात्रै हानेपा सरकारमा जाने ?

बटमलाइन त्यही हो तर अहिलेसम्म सहकार्य गरेर कसरी जाने भन्ने विषयमा उहाँहरू अन्योलमा हुनुहुन्छ। मुख्यमन्त्रीको दाबेदार को हो? एमाले, माओवादी र नेकपा समाजवादी पनि मुख्यमन्त्रीकै दौडमा छन्। त्यसकारण उहाँहरू के कसरी टुंगो लगाएर आउनुहुन्छ, त्यसकै आधारमा हामी निर्णय गर्छौं।

पुराना दललाई गाली गरेर चुनाव जितेको पार्टी उनीहरूकै शैलीमा सत्ता बार्गेनिङमा देखिनुभयो‚ जनताले के भन्छन् ?

त्यस्तो होइन। उहाँहरूकै बलिदानका कारणले म यहाँसम्म पुगेको छु भन्दै आएको छु। उहाँहरू संघीयताको मर्म बुझेर आउनुभएको छ। उहाँहरू नै एकले अर्काले सिध्याउने काम गर्न थाल्नुभयो। यसरी संघीयता कसरी बलियो हुन्छ भन्ने कुरा उठाउँदै आएको छु।

प्रदेशकै कारणले हाम्रो भाषा विधेयकदेखि हस्तकलाग्रामका विधेयक आए। दलित र महिलालाई अधिकार दिएको छ। तर आरोप प्रत्यारोप गरेर सदन बन्द गर्दा यस्तो अवस्था सिर्जना भएको हो। त्यसमा बार्गेनिङ भन्ने हुँदैन। उहाँहरूले मन्त्रीको अफर गर्नुभएको छ‚ हामीले अस्वीकार गर्‍यौँ।

तपाईंको अडानले प्रदेशमा राजनीतिक अस्थिरता निम्त्याउने र मध्यावधि निर्वाचनमा जाने संकेत देखिन्छ, यो ठिक हो?

बागमती प्रदेशमा मध्यावधि निर्वाचनसम्म जाने अवस्था आउँदैन होला। हामीले बागमती प्रदेश राप्रपा संसदीय दलका नेतासँग पनि पनि कुरा गरेका छौं। उहाँहरू सरकारमा जानसक्ने सम्भावना देखिरहेको छु। केही गरी उहाँहरू सरकारमा सहभागी हुनुभयो भने मैले उहाँहरूलाई धन्यवाद दिन्छु।

आन्दोलनका कारण राप्रपा अहिले सरकारमा सहभागी नभएको हुनसक्छ तर बागमतीमा मध्यावधि हुन दिने पक्षमा कुनै पनि पार्टीले चाहेको छैन। उहाँहरूको अन्तिम विकल्प भनेको राप्रपा हो। यदि राप्रपा सरकारमा जानसक्ने अवस्था भएन भने त्यसमा थप विकल्प के हुनसक्छ भन्ने कुरामा हामी छलफल गर्छौं।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.