|

निशा गुरुङ
हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले अर्को गाउँपालिकाबाट बसाइँ सरेर आए उपहारस्वरुप घर निर्माण गरेर दिने घोषणा गरे पनि अहिलेसम्म कोही पनि उपहार लिन आएका छैनन्।

बसाइँ सरेर आउनेलाई यही वर्षदेखि घर उपहार दिने निर्णय गरेको भए पनि अन्यत्रबाट राक्सिराङमा एकजना पनि बसाइँ सरेर आएका छैनन्। 

घर उपहार दिँदा पनि बसाइँ सरी नआउनु दुःखद भएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए। सबै जनता शहरमुखी हुनका साथै सुविधा खोज्ने बहानामा सुगम क्षेत्रमा बसाइँ सरी जानेको बताए। 

गाउँपालिकाको चालु आवको स्वीकृत नीति तथा कार्यक्रममा अन्यत्रबाट गाउँपालिकाभित्र बसाइँ सरेर आउन उत्साहित गर्न ‘सुन्दर समाज हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिने निर्णय गरेको थियो।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर कस्तो प्रकारको हुने र कति लागतको हुने भन्ने कुरा गाउँपालिकाले बनाउने कार्यविधिमा निर्भर हुने बताइएको थियो। 

सो निर्णयअनुसार नै गाउँपालिकाले गत फागुन १६ मा राक्सिराङ गाउँपालिकामा बसाइँ आउनेलाई घर उपहार कार्यक्रमसम्बन्धी १५ दिने सूचना जारी गरिएको थियो। यस्का लागि पालिकाले मापदण्डसमेत बनाएको थियो। 

तर सूचनामा उल्लेखित म्याद सकिँदासम्म एकजना पनि घर उपहार लिन नआएको गाउँपालिकाका शाखा अधिकृत गोविन्द अधिकारीले जानकारी दिए।

‘घर उपहारका लागि एकजनाले फोन सम्पर्क गरेर बुझ्नु भएको थियो। हामीले त्यसका लागि सबै मापदण्डबारे जानकारी गरायौं‚’ उनले भने, ‘तर कोही पनि निवेदन दिन आउनु भएन।’ 

गाउँपालिकामा बसाइँ सरी आउनेभन्दा जाने धेरै रहेको उनको भनाई छ। अधिकारीका अनुसार गाउँपालिकाबाट हरेक वर्ष १८५ जनाभन्दा धेरै बसाइँ सरी जाने गरेका छन्।

हरेक वर्ष गाउँपालिकाबाट धेरै मात्रामा बसाइँसराइँ हुने गरेको र त्यसलाई रोक्न गाउँपालिकाले घर उपहार दिने निर्णय गरेको तर एकजना पनि नआएको अध्यक्ष मल्लले बताए।

पालिकामा बसाइँ सरी आउनेलाई पालिकाले प्रतिघर ५ लाख रुपैयाँ पर्ने दुईकोठे घर निर्माण गरिदिने निर्णय गरेको भए पनि हालसम्म एकजना पनि नआएका हुन्।

दुर्गम क्षेत्रमा जति विकास भएपनि सुविधा छैन भन्ने मानसिकताले पनि बसाइँसराइ हुने गरेको उनको भनाइ छ।

‘विगतको तुलनामा हेरेर गाउँपालिकामा धेरै विकास भएको छ। विगतमा सिटामलसम्म नपाइने पालिकामा अस्पताल बनेको छ। हरेक वडाहरुमा स्वास्थ्यचौकी निर्माण भएको छ। मावि तहसम्म पढाई हुन्छ भने पालिकामा बाटोघाटो निर्माण हुनुका साथै खानेपानीको सुविधा पुगेको छ‚’ अध्यक्ष मल्ले भने, ‘दुईवटा वडाबाहेक सबै वडामा बिजुली पुगेको छ। अहिले समयमा दुःख गर्न नचाहने शहरमुखी हुँदा र ऐलानी जग्गामा भए पनि अन्यत्र बसाइँ सरी जाने हुँदा यस्तो अवस्था सिर्जना भएको हो जस्तो लाग्छ।’

अध्यक्ष मल्लले राक्सीराङ गाउँपालिका भन्ने बित्तिकै दुर्गम गाउँपालिका सोच्ने र पालिकामा पछिल्लो समय धेरै विकास भइसकेको जानकारी नहुँदा पनि बसाइँ सरेर आउनेको संख्या न्यून रहेको बताए। 

अध्यक्ष मल्लका अनुसार गाउँपालिकाले बसाइँ सरेर आउनेलाई घर उपहार दिने सम्बन्धमा पुनः बैठक बसेर सूचनाको म्याद थप्ने बताएको छ। उनले विगतको तुलनामा गाउँपालिकामा धेरै विकास भएको भन्दै बसाइँ सरेर आउन फेरि आह्वानसमेत गरेका छन्।

मकवानपुर जिल्लाको पश्चिमीउत्तरी भागका ४ वटा साविक गाविस राक्सिराङ्ग, काँकडा, खैराङ र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ गाउँपालिका गठन भएको थियो। 

यस गाउँपालिकाको जनसंख्या राष्ट्रिय जनगणना, २०७८ अनुसार २५ हजार ९९६ जना छ भने राक्सिराङ गाउँपालिकाले विसं २०७५ मा गरेको घरधुरी सर्वेक्षणअनुसार ३० हजार ८३० जना रहेको थियो। यसको कुल क्षेत्रफल २२६.७ वर्ग किमि र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग किमि छ।

यसको पूर्वमा हेटौँडा उप–महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ती नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका पर्छ।

जम्मा ९ वटा वडा रहेको पालिकामा तामाङ समुदाय ४६.२५ प्रतिशत, चेपाङ समुमदाय ४३.९६ प्रतिशत, क्षेत्री समुदाय २.७५ प्रतिशत, दलित समुदाय २.३८ प्रतिशत, मगर समुदाय १.५० प्रतिशत‚ नेवार समुदाय ०.५६ प्रतिशत र ब्राह्मण समुदाय ०.०६ प्रतिशत बसोबास गर्छन्।

गाउँपालिकामा आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको छ।

गाउँका युवाहरुसँगै बसाइँसराइ गरेर जानेहरुका कारणले गाउँ सुनसान बन्दै गएका छन्। गाउँमा गरेर खाने मान्छे छैनन्।

जनसंख्या नहुँदा विवाह, पूजालगायत कुनै पनि सामाजिक काम गर्नसमेत कठिन छ। विदेशिने क्रम र बसाइँसराइबाट गाउँघरमा वृद्ध आमाबुवाहरु मात्रै छन्।

गाउँमा कुनै व्यवसाय गरे पनि लगानीअनुसार प्रतिफल नआउने गर्नाले पनि बसाइँसराइ बढ्दै गएको छ। कतिपय बसाइँ सरेर जानेहरु गाउँको जग्गा बिक्री नगरी घरमा ताल्चा लगाएर सुगम ठाउँमा जाने गरेका छन्। 

जिल्लाको अवस्थामा विशेष गरी प्रकारका मानिस बढी बसाइसराइँ गरिरहेका छन्। सम्पन्न मानिस थप सुविधाका लागि र विपन्न व्यक्ति रोजीरोटीकै लागि बसाइँ सर्ने गरेका छन्।

खेतिपातीमा लगानीअनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनुजस्ता कारण देखाउँदै यहाँका स्थानियहरू बसाइसराइँ गरेर अन्यत्र जाने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.