|

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेको दाबी गरेका छन्।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली राजनीतिमा स्थापित भइसकेको बताए। उनले पछिल्लोपटक सरकारमा सहभागी भइसकेपछि रास्वपाबाट सरकारमा गएका मन्त्रीहरूले फिल्मको ट्रेलर शुरु गरिसकेको पनि बताए। उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गरेका काम महत्त्वपूर्ण रहेको बताए।

उनले रास्वपाबाट सरकारमा गएका मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालका मित्र एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको भन्दै रास्वपाले भ्रष्टाचारीलाई नछोड्ने संकेत दिएको उल्लेख गरे। उनले आरति साहको मुद्दालाई टुंगोमा पुर्‍याउने प्रक्रिया शुरु भएको, सरकारले पन्छाएको आयोग पुनः सक्रिय बनाउने काम शुरु गरेको, मिटरब्याज पीडितहरूदेखि सहकारीको समस्या समाधानका लागि आवश्यक काम अघि बढाएको पनि बताए।

उनले भने, ‘गृहमन्त्रीले जुन कदम लिइरहनुभएको छ। विश्वासको मत लिएकै दिन उहाँले दशौँ महिनासम्म अलपत्र आरति साहको मुद्दालाई टुंगोमा पुर्‍याउने प्रक्रिया शुरु गर्नुभएको छ। मिटरब्याज पीडितहरूदेखि लिएर सहकारीको समस्या झेल्नेहरूदेखि लिएर, धेरै आयोग पहिला पन्छाइएको थियो, त्यसलाई सक्रिय बनाउनुभएको छ। कृष्णबहादुर महरासमेत सत्तासँग यति नजिक, सत्तारुढ दलको उपाध्यक्षलाई समेत कानूनी घेरामा ल्याउनसक्छौँ भने अरू त त्यति ठूलो रहेन। त्यो संकेत दिन खोजेको पनि हो। आज हामी नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेका छौँ। आजका मितिमा सबैभन्दा भरपर्दो विश्वसनीय पार्टी रास्वपा बनेको छ।’

उपसभापति वाग्लेले रास्वपा अभिमन्युझैँ चक्रभित्र पस्न मात्रै जान्ने र निस्किन नजान्ने नभई चक्रभित्र बसेर पनि निस्किने रोडम्याप आफूहरूसँग रहेको बताए। उनले नीतिगत भ्रष्टाचार, ठेक्कापट्टामा भाग खोज्ने कुरामा पार्टी जोगिनुपर्ने बताए। उनले जनताले एकैदिन पनि औंला ठड्याउने काम गर्नु नहुने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.