|

काठमाडौँ : नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आइतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई उक्त निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त निर्वाचनन क्षेत्र खाली थियो।

सोही निर्वाचनमा क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। कानूनव्यवसायी सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधि अघि बढाएका थिए। त्यसैगरी बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ।

दुवै उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सिंगो पार्टी पंक्तिलाई जुट्न र अन्य दलहरूको पनि सहयोगका लागि बैठकले अपिल गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उपमहासचिव ज्ञवालीले भने, ‘यो बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सिंगो पार्टी शक्ति नेकपा एमालेको विजयी केन्द्रित हुने, गर्ने र अरू पार्टीलाई पनि हाम्रो उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय पनि गरेको छ।’

एमालेले ऐन महरलाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ। उनले पार्टीमा सक्रिय भएर इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता जनाएकाले पुनः केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको पनि पार्टी उपमहासचिव ज्ञवालीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.