|

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली काँग्रेसले राजनीतिक प्रतिशोधले ग्रस्त भएर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको आरोप लगाएका छन्।

आइतवार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले उपप्रधानमन्त्री लामिछानेको राजीनामा मागेर सदन अवरुद्ध पार्ने नेपाली काँग्रेसको कामलाई एमालेले जिम्मेवार राजनीतिक दलको कदमको रूपमा लिन नसक्ने पनि बताए। उपमहासचिव ज्ञवालीले कुनै औपचारिक निकायमा प्रमाणसहित उजुरी दर्ता भए एमाले पनि उपप्रधानमन्त्री लामिछानेको राजीनामाको पक्षमा उभिने बताउँदै विनाप्रमाण त्यसै राजीनामा माग्न नमिल्ने बताए।

उनले आफैँले प्रधानमन्त्री प्रस्ताव गरेको व्यक्तिलाई गृहमन्त्रीको निम्ति अयोग्य भन्नु राजनीतिक प्रतिशोधबाहेक अरू केही पनि हुन नसक्ने जिकिर गरे। उपमहासचिव ज्ञवालीले विगतमा आफ्नो पार्टीले प्रमाणको आधारमा मात्रै तत्कालीन भौतिक पूर्वाधार प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा माग गरेको तर्क गरे।

ज्ञवालीले भने, ‘विगतमा हामीले उठाएको विषय र अहिले गृहमन्त्रीको राजीनामाको माग गर्दै उठाइएको विषय फरक छ। एकजनालाई सरकारले नै बनाएको छानबिन आयोगले बालकुमारी घटनामा दोषी देखाएको थियो। अर्को एकजना मन्त्रीलाई अख्तियारले बनाएका लागि बोलाइएको थियो। उहाँ झण्डा हल्लाएर अख्तियारमा बयान दिन जानुभएको थियो। अहिले गृहमन्त्रीका बारेमा त्यो तहको कुनै उजुरी, मुद्दा औपचारिक रूपमा दायर भएको छैन। तेस्रो नेपाली काँग्रेसको यो मामिलामा द्वैध भूमिका देखिएको छ। राजनीतिक प्रतिशोधको आधारमा विषय उठान गर्नु र त्यत्तिको आधारमा संसद् अवरुद्ध गर्नुलाई जिम्मेवार भन्न सकिँदैन।’

उपमहासचिव ज्ञवालीले एमालेको ध्यान देश र जनताको हितमा केन्द्रित रहेको दोहोर्‍याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.