|

काठमाडौँ : फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल पुगेर राहदानी सेवा दिन थालेको छ। विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन पुगेको हो।

लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी आइतवारदेखि नै राहदानी सेवा दिन थालेको छ।

आइतवार पहिलो दिन राहदानीको म्याद सकिएका, क्षति भएका, राहदानी हराएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकका लागि समय लिइसकेका र पोर्चुगलमा जन्मेका बालबालिकाका गरी ५४ जनाको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क संकलन गरिएको टोलीले जनाएको छ।

टोलीले राहदानी हराएका, क्षति भएका, सन् २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गर्ने टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख बस्नेतले जानकारी दिए।

शिविर अवधिभर दैनिक १ सय जनाका दरले ७ सय जनाको विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलनको लक्ष्य रहेको बस्नेतले बताए। 

टोलीले प्राथमिकताका आधारमा जैविक तथ्याङ्क सङ्कलनका लागि आवेदकको नामावली प्रकाशित गर्ने जनाउँदै उनले सोहीबमोजिम इनरोलमेन्ट सेन्टरमा उपस्थित हुन आवेदकलाई आग्रहसमेत गरेका छन्।

पोर्चुगलमा राहदानीविहीन बनेका, राहदानी नभएकै कारण समस्यामा परेका र पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकको समय लिएकालगायत राहदानी अत्यावश्यक भएकाका लागि तत्काल राहतका लागि दूतावासले शिविरको व्यवस्था गरेको हो।

एक सातासम्म सञ्चालन हुने राहदानी सेवा शिविरमा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघ–संस्थाले समन्वय र सहजीकरण गरेका छन्।

टोलीले आगामी मार्च ३१ सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रवाह गर्ने जनाएको छ। गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोलीले राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.