माओवादी र जसपाले एमालेका सुहाङलाई गर्लान् समर्थन ?

|

काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभा अध्यक्षसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि उक्त प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

राज्यमन्त्री, मन्त्री हुँदै संविधानसभा अध्यक्ष र सभामुख बनेका दिवंगत नेम्वाङको क्षेत्र भएकाले पनि यो चर्चामा छ। ०५६ सालयता उनी यसै क्षेत्रबाट निरन्तर जित्दै आएका थिए। ०६४ र ०७० को संविधानसभा निर्वाचन तथा ०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचन नेम्वाङले इलाम–२ बाटै जितेका थिए। 

यसरी ‘हेभिवेट’ अपराजित रहँदै आएको क्षेत्रबाट यसपटक कसले बाजी मार्ला भनेर इलाम–२ सबैको चासोको केन्द्र बनेको हो। इलाम–२ चासोको विषय बन्नुको कारण यो मात्रै होइन, पहिचानको आन्दोलन चर्किएको प्रदेशको निर्वाचन क्षेत्र भएकाले पनि थप चर्चामा छ। 

पहिचानको मुद्दाले नतिजामै फरक पार्न सक्ने भएपछि यसबाट कसरी लाभ लिन सकिन्छ भनेर सबै दल तथा स्वतन्त्रहरूले समेत दाउ हेरिरहेका छन्। 

नेकपा एमालेले दिवंगत नेता नेम्वाङको योगदानको कदरसँगै पहिचानको मत पनि आउने गरी सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। सुहाङ दिवंगत नेता नेम्वाङकै कान्छा छोरा हुन्। 

तर सत्ता गठबन्धनमा भएर पनि एमालेले एकलौटी रुपमा उम्मेदवार अघि सारेपछि अन्य साझेदार दल सन्तुष्ट छैनन्। एमालेप्रति माओवादी केन्द्र मौन छ भने एकीकृत समाजवादी (नेकपा एस)ले हिस्सा खोजेको छ। गठबन्धनभित्रकै अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो उम्मेदवार उठाउने पक्का छ।  

इलाम–२ को समग्र वस्तुस्थिति बुझ्न खटिएका रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीले आफ्नो उम्मेदवार उठाउने निश्चित छ। उम्मेदवारका लागि अहिलेसम्म ३ जनाको नाम आएको भन्दै केही दिनभित्रै कसलाई उम्मेदवार बनाउने भनेर सार्वजनिक गर्ने उनले बताए। 

‘पार्टीले उम्मेदवार उठाउने पक्का हो’, उनले भने, ‘उम्मेदवारका लागि भोलिसम्म आवेदन दिने समय छ। अहिलेसम्म ३ जनाको नाम आएको छ। अब कसलाई उम्मेदवार बनाउने भन्नेबारे केही दिनपछि थाहा हुन्छ।’ 

नेता बुर्लाकोटीले उम्मेदवारका नाम खुलाउन भने चाहेनन् तर माओवादीनिकट पत्रकार संगठनबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुलाई रास्वपाले उम्मेदवार बनाउने चर्चा छ।  

‘गठबन्धनमा रहेर आफ्नै उम्मेदवार उठाउँदा साझेदार दलहरूबीच खटपट आउँदैन?’ भन्ने थाहाखबरको प्रश्नमा सहमहामन्त्री बुर्लाकोटीले सरकार बनाउनका लागि मात्र गठबन्धन गरिएको बताए। ‘अहिलेको गठबन्धन केन्द्रको सरकार बनाउनका लागि गरिएको हो। चुनावका लागि होइन’, उनको जवाफ छ। 

छोटो समयको तयारीका बाबजुद ०७९ को आमनिर्वाचनमा आश्चर्यजनक नतिजा हात पारेको रास्वपा सोही लयलाई निरन्तरता दिन चाहन्छ। तनहुँ–१ को उपनिर्वाचनले रास्वपामा विश्वास थप बढाएको छ। 

सो क्षेत्रबाट निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि गत १० वैशाखमा भएको उपनिर्वाचनबाट रास्वपाका डा. स्वर्णिम वाग्ले भारी मतसहित विजयी भएका थिए।

निकटतम प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईभन्दा उनले १४ हजार ७ सयभन्दा बढी मत पाएका थिए, जसकारण रास्वपामा ‘कन्फिडेन्स’ उच्च छ। यस्तोमा एमालेका उम्मेदवार सुहाङलाई समर्थन नगर्ने निष्कर्षमा रास्वपा पुगेको हो।

यस्तै, इलाम–२ वा बझाङ प्रदेशसभा–१ मध्ये एउटा आफूलाई दिन माग गरेको नेकपा एसले त्यो सम्भावना नदेखेपछि आफ्नै उम्मेदवार उठाउने भएको छ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग सोमवार भएको भेटमा नेकपा एसका अध्यक्ष माधव नेपालले आफूलाई हिस्सा नदिए दुवै क्षेत्रमा उम्मेदवार खडा गर्ने चेतावनी दिएका थिए। 

सत्तारुढ दलहरूबीच सहमति नभएपछि उसले आफ्नै उम्मेदवार उठाउने भएको हो। दुवै ठाउँमा आफ्नै उम्मेदवार उठाउने नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। 

पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले पनि बझाङमा आफ्नो उम्मेदवार उठाउने पक्का भएको जानकारी दिए। उनका अनुसार इलामका सन्दर्भमा भने छलफल भइरहेको छ। 

‘बझाङमा आफ्नो उम्मेदवार उठाउने पक्का हो’, उनले भने, ‘इलामका सन्दर्भमा छलफल भइरहेको छ तर एक पटक मोर्चामा पनि छलफल गर्न भने बाँकी छ।’

गठबन्धनभित्रको अर्को दल जनता समाजवादी पार्टी (जसपा) पनि सन्तुष्ट सुनिँदैन। जसपा प्रवक्ता मनिष सुमन अहिलेसम्म आफूहरूसँग गठबन्धनमा रहेका एमालेलगायतका ठूला दलले कुनै छलफल नगरेको सुनाए।

‘गठबन्धनको त पछिल्लो लामो समय बैठक पनि भएको छैन। आवश्यक परे उहाँहरू (एमाले)ले भन्ने हो’, उनले भने, ‘हामी आरामले अन्तिममा निर्णय गर्ने पक्षमा छौँ। अहिले केही सोचेका पनि छैनौँ।’  

त्यसो त जसपा पहिचानवादी दल हो। प्रदेश १ लाई कोशी नामकरण गर्दा विपक्षमा उभिएको जसपाले अहिले एमालेका उम्मेदवार सुहाङलाई समर्थन गर्ने निश्चित छैन। 

नैतिक संकटमा माओवादी

लामो रस्साकसीपछि ०७९ फागुन १७ मा प्रदेश १ ले कोशी नाम पायो। आफूलाई पहिचानवादी भनेर भोट मागेको माओवादी केन्द्रसमेतको समर्थनमा कोशी नाम दुई तिहाईभन्दा बढी मतले पारित भयो। 

तर ‘कोशी’को पक्षमा मत हालेर दुईतिहाई बहुमत पुर्‍याएको माओवादीले झन्डै ५ हप्तापछि भने कोशी नामकरणविरुद्ध उभिने निर्णय गर्‍यो। जसलाई पहिचान पक्षधरहरूले माओवादीले दोहोरो चरित्र प्रदर्शन गरेको भन्दै चर्को आलोचना गरे। 

त्यसरी ‘कोशी’मा मतदान गरेर फेरि पहिचानको पक्षमा उभिने नाटकीय निर्णय गरेको माओवादीका अध्यक्ष प्रचण्डले नै आगामी निर्वाचनमा आफूहरूलाई ठूलो दल बनाउने गरी मत दिए पहिचान झल्कने नाम राख्ने आश्वासन दिन भ्याए। उक्त अभिव्यक्तिका कारण उनी धेरै आलोचित पनि भए।

यही दोहोरो चरित्रका कारण माओवादी अहिले नैतिक संकटमा छ। आगामी उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाएको एमालेको जोडबलमै कोशी नाम राखिएको थियो।

तर पछि पहिचानको पक्षमा उभिने निर्णय गरेको माओवादीले त्यही पहिचानविरोधी एमालेको उम्मेदवारलाई समर्थन गर्ने भनेर खुल्लमखुला भन्न सकेको छैन। 

उसो त भर्खरै बनेको गठबन्धनकै भविष्य धरापमा पर्ने गरी आफ्नै उम्मेदवार खडा गर्ने पक्षमा पनि माओवादी छैन। यसबारे जिज्ञासा राख्दा माओवादी नेताहरू स्पष्ट जवाफ नदिई पन्छिने गरेका छन्। 

थाहाखबरले शुरुमा माओवादी महासचिव देव गुरुङलाई यसबारे जिज्ञासा राखेको थियो तर उनी अन्य नेताबाट जानकारी लिनुहोला भन्दै पन्छिए। माओवादी सचिव लीलामणि पोखरेलले पार्टी प्रवक्ता अग्नि सापकोटालाई सोध्न जवाफ दिए। 

प्रवक्ता सापकोटाले पनि टालटुले जवाफ दिए। एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय भइनसकेको बताउँदै उनले भने, ‘आफ्नै उम्मेदवार उठाउने तयारी पनि भइराख्या छैन‚ अरु नै कुरामा अल्झिराख्या छौँ। यसबारे खासै छलफल पनि भएको छैन।’ 

प्रदेशलाई कोशी नामकरण गरिएयता आन्दोलन चर्काउँदै आएको ‘प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ले डकेन्द्रसिंह थेगिमलाई अघि सारिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.