|

महेन्द्रनगर : महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ। निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी शुरु गरेको हो।

विसं २०७४ मा निर्माण शुरु भएको चार लेनको पक्की पुलसँगै ८.६ किलोमिटर ६ लेन सडक निर्माणको ९०.१९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। निर्माण कम्पनी कुमार-सीएफईसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत आठ करोड ५० लाख रकम प्राप्त भएको जानकारी दिए।

इञ्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए । ‘रिएसनका कारण अझै १५ करोड बक्यौता छ’, उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ।’

उनले ८.६ किलोमिटर छ लेनको पहुँचमार्गमध्ये एक हजार ५०० मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए। ‘रकम अभावलगायतका कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ’, इञ्जिनियर पाण्डेयले भने । पुलको लागत तीन अर्ब ६६ करोड रुपैयाँ छ । 

पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ ०.३ वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.