|

पर्वत : जिल्लाको जलजला गाउँपालिका आलु उत्पादनको ‘पकेट’ क्षेत्र हो। जलजलाका विभिन्न ठाउँमा आलुको राम्रो उत्पादन हुँदै आएकोमा गाउँपालिकासहित कृषि ज्ञान केन्द्र पर्वतले लगानी बढाइरहेको छ। 

तर सोमबारको वर्षासँगैको असिनाले कृषकलाई दुःखी बनाएको छ। बढी आलु उत्पादन हुने गरेकै क्षेत्रहरूमा बाक्लो गरी परेको असिनाले आलु सहितका अन्य बाली पनि नष्ट पारेपछि कृषक चिन्तामा छन्। लामो समयसम्म नभएको वर्षाले माटो सुख्खा बन्दा उत्पादनमा ह्रास आउने चिन्तामा रहेका कृषक पानी परेपछि खुशी भएका थिए। तर असिनाका कारण उनीहरूको खुशी धेरै बेर टिक्न सकेन।

‘लामो समय वर्षा नहुँदा सिँचाइमा समस्या भएको थियो। खडेरीले बाली नै सुकाउला भन्ने पिर परेको थियो। सोमबार पानी परेर खुशी त भइयो तर असिनाले पुर्पुरो समात्ने बनायो’, स्थानीय लिलाधर सापकोटाले भने, ‘आलुसहित अन्य बाली र तरकारी खेतीमा पनि क्षति पुर्‍याएको छ। कहीँ कहीँ त पूरै नष्ट पारेको छ। कहीँ अलि अलि क्षति भएको छ।’

क्षतिको अवस्थाबारे गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतम, कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका बाली संरक्षण अधिकृत आशिष पाण्डे लगायतको टोलीले मंगलवार स्थलगत रूपमा नै विवरणहरू संकलन गरेको छ। क्षति भएको सबै ठाउँमा एकै दिनमा पुगेर विवरण संकलन गर्न नसकिएको बताउँदै गाउँपालिकाका कृषि शाखा प्रमुख गौतमले गाउँपालिकाका विभिन्न स्थानमा धेरै-थोरै क्षति भएको सूचना आएको बताए। सबैभन्दा बढी क्षति वडा नं. ६ शालिजामा भएको उनको भनाइ छ।

उपल्लो शालिजामा करिब २०० रोपनी र भोटेडाँडास्थित च्यानकाटेमा करिब ९० रोपनी गरी करिब तीन सय रोपनी क्षेत्रफलमा लगाइएको आलु बालीमा क्षति पुगेको छ। ती दुई ठाउँमा लगाइएको आलु उत्पादनमा कम्तीमा पनि ४५ प्रतिशतले कमी हुन सक्ने अनुमान छ। वडा नं. ५ लेकफाँटमा करिब १०० रोपनी १०० रोपनी क्षेत्रफलको आलुलाई असिनाले चुटेको छ। त्यहाँ करिब २० प्रतिशतले उत्पादनमा कमी आउन सक्ने आँकलन गरिएको छ। 

च्यानकाटेकै नमुना कृषि तथा पशुपक्षी कृषक समूहमा अबद्ध भएकाहरूले करिब ३३ रोपनी क्षेत्रफलमा लगाएको आलुको मूल बीउमा धेरै क्षति भएको छ। क्षतिका कारण अनुमान गरिएभन्दा करिब ५० प्रतिशतसम्म कम उत्पादन हुने गरी बिउमा क्षति पुगेको छ। क्षति भएको ठाउँमा तत्काल नै ढुसीनाशक विषादी प्रयोग नगरे थप क्षति पुग्ने भएकाले कृषकलाई तुरुन्तै प्राविधिकको सल्लाह बमोजिम फङ्गिसाइड तथा प्लान्ट ग्रोथ हर्मोनको प्रयोग गर्न सुझाएको कृषि शाखा प्रमुख गौतमले बताए।

यस्तै जलजला गाउँपालिका स्वयंले सञ्चालन गरिरहेको आलु बिउ उत्पादन कार्यक्रम अन्तर्गत लगाइएको आलुमा पनि क्षति भएको छ। गाउँपालिकाको कार्यक्रममा सहभागी भएको प्रगतिशील ताजा तरकारी उत्पादन तथा बिउ उत्पादक कृषक समूहले मूल बीउका रूपमा ६८ रोपनी र पूर्व मूल बिउका रूपमा करिब तीन रोपनी क्षेत्रफलमा लगाइएको बिउमा सामान्य क्षति पुगेको छ। 

वडा नं. ५ लेकफाँटकी माया सुवेदी भुसालका अनुसार आलु लगायत तरकारी र फलफूल खेतीमा पनि असिनाले व्यापक क्षति पुर्‍याएको छ। चेनकाटेदेखि तल्लो भागमा उन्नतिशील बिउ उत्पादक कृषक समूहले मूल बीउ र उन्नत बीउका रूपमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाएको आलुमा क्षति पुगेको छ। ती स्थानमा बिउ उत्पादनमा करिब ४० प्रतिशत भन्दा बढीले कमी आउने कृषकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.