|

म्याग्दी : जिल्लाका भीर पहरामा मह शिकार शुरु भएको छ। अन्नपूर्ण, रघुगङ्गा र धवलागिरि गाउँपालिकाको लेकाली क्षेत्रका बाट मह निकाल्न थालिएको हो।

अन्नपूर्ण गाउँपालिका–७ टिकोटका मह शिकारी दीपक पुनले मह शिकारका लागि दोसल्ले भीर आएको बताए। “बेँसीका भीरबाट शुरु हुने मह शिकार गर्दै असारमा लेकको पहाडमा पुग्छौँ”, उनले भने, “सातजनाको समूह मह शिकारका लागि निक्लिएका छौँ।”

मह शिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको देख्दै डरलाग्दो भीरमा झुण्डिएर मह निकाल्ने गर्छन्। भीरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ। 

भीरमा भीरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (पराङ) मा झुन्डिएर मह शिकार गर्ने गर्छन्।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। 

वसन्तमा बेँसी र शरदमा लेकमा पुगेर भीरमह निकाल्न उपयुक्त समय हो। दोसल्लेको भीरमा ३ दिनदेखि मह शिकार गरेको दीपकको समूहले ४० लिटर मह निकालेको छ।

प्रतिलिटर ३ हजार ५ सयका दरले भीरमह बिक्री हुने गर्छ। 

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन्। एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा पराङ) झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन्।

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्। धुवाँ लगाइदिएपछि मौरी भाग्छन्। त्यतिवेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनु पर्छ।

जब पराङमार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न शुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रूख र ओडारमा लुक्छन्। माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुन्छ।

मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ। 

स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवर्द्धक हुनाका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भीरमहको माग बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.