|
फाइल तस्वीर

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको कामको समयसीमा ५ दिन बाँकी रहेको छ। 

उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।

आयोजनाको समय सीमा ५ दिन बाँकी रहँदा एक तिहाइ काम पनि नभएको कार्यालयले जनाएको छ। करिब २२ महिनामा सडक फराकिलो बनाउने मात्रै अर्थात् आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय थपेर सम्पन्न गराउने योजना बनाएको छ। 

४ किलोमिटर सडक स्तरोन्नतिका लागि २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले आयोजना अलपत्र राख्न नहुने भएकाले समय थपेर सम्पन्न गराउने योजना बनाएको बताए।

उनका अनुसार समय सीमाको २ महिनाअघि ठेक्का तोड्ने प्रक्रियामा समेत जान लागिएकामा विभिन्न चरणका छलफलपछि आयोजना सम्पन्न गर्नेतर्फ लाग्ने निष्कर्ष निकालिएको हो। 

सडक विस्तारको काममा ढिलाइ भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम गत फागुन ११ गते सडकमै आमरण अनशन बसेका थिए। 

गौतमले आमरण अनशन शुरु गरेको करिब २९ घण्टापछि रोकिएको ४ किलोमिटर सो सडकखण्ड विस्तार थाल्ने पाँचबुँदे लिखित प्रतिबद्धता गरिएको थियो। त्यसयता सो प्रतिबद्धता कार्यान्वयन भएको देखिएको छैन।

५ बुँदामा भएको सहमतिमा गत फागुन १५ गतेभित्र करिब एक सय जनशक्ति फिल्डमा खटाउने, ४ एक्साभेटर, ७ टिपरलगायत निर्माण सामग्री परिचालन गरी निर्माण द्रुत गतिमा अघि बढाउने, उक्त कार्य अघि नबढे सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा अघि बढ्ने, ठेक्का तोड्न निर्माण व्यवसायीको सहमति रहने र निर्माण व्यवसायी कुनै उजुरबाजुरमा नजाने उल्लेख गरिएको छ।

चैत १९ गतेसम्ममा २ किमी सडक कालोपत्र गरी बाँकी खण्डको काम पनि तत्काल शुरु गर्ने, कामलाई निरन्तरता दिएपछि कामको गति र प्रगति सन्तोषजनक नभए ठेक्का तोड्न सडक डिभिजन कार्यालयले प्रक्रिया अघि बढाउने सहमति भएको थियो। 

सडक निर्माण्ले गति नलिँदा भत्किएको सडकमा नियमितजस्तै दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन्। केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो। 

सडकमा गुड्ने मालवाहक सवारीसाधनको भारवहन क्षमता दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल्ट कालोपत्र गर्ने योजना थियो। 

जिल्लाको पूर्वी–उत्तरी क्षेत्र अर्थात् उत्तरी नाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ। सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.