|

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन्।

शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औँ वार्षिक साधारणसभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले उद्योगी व्यवसायीले मनोबल कमजोर भयो, व्यावसायिक वातावरण भन्नुको साटो सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए। उनले मुलुकभरका उद्योगी व्यवासायीलाई अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गरे। 

उनले अब उद्योगी व्यवसायीले निरासाको मात्रै कुरा गरेर, व्यावसायिक वातावरण छैन भनेर निरास हुन नहुने बताए। उनले मुलुकको बाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको बताए। 

अध्यक्ष ढकालले सरकारले आगामी बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरे। 
उनले बैंक तथा वित्तीय संस्थाहरुले कृषि,जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुनसक्ने बताए।

‘बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने प्राथमिक क्षेत्र छन्। ती क्षेत्रबाहेक निर्माण क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ। बैंकहरुले कृषिमा १५, जलस्रोतमा १० प्रतिशत भन्ने छ‚’ उनले भने, ‘निर्माण क्षेत्रमा पनि लगानी गर्नको लागि बैंक र बीमाहरुको फण्ड छ। आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था यति प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्नसके विकास निर्माणले गति लिने विश्वास छ।’

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको बाह्य अर्थतन्त्रमा सुधार आए पनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको बताए। उनले मागमा वृद्धि र निजी क्षेत्रको मनोवल पनि माथि उठ्न नसकेको अवस्थाले उद्योगी व्यवसायीहरुले नयाँ लगानीका योजनाहरु अघि बढ्न नसकेको जानकारी गराए। उनले निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए। 

उहाँले सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशिलता दिन आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र चलायमान बनाउन सक्ने उपाय प्रभावकारी बजेट कार्यान्वयन भएको भन्दै प्रभावकारी बजेट कार्यान्वयनबाट पुँजीगत खर्च बढ्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने धारणा राखे। 

उपाध्यक्ष पाण्डेले सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास निर्माणका काम अघि बढ्न नसकेको दाबी गरे। उनले चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि पुँजीगत खर्च ३० प्रतिशतभन्दा माथि नगएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.