|

दाङ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्कालाई झुट्टा मुद्दा लगाएर फसाइएको दावी गरेका छन्। 

शुक्रवार दाङको लमही नगरपालिका-९ अमिलियामा स्वर्गीय नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले खड्कालाई भ्रष्टाचारको झूटो मुद्दामा फसाइएको दावी गरे। उनले खड्का देशको सच्चा सपूत भएको बताए।

‘उहाँलाई षड्यन्त्रपूर्ण तरिकाले जेल हाल्यो। झूटा मुद्दा लगाएर फसाउन खोज्यो, फसायो त्यसले केही भएन। उहाँको हाइट झनझन् बढ्दै गयो‚’ उनले भने, ‘उहाँ राष्ट्रको सपूत हो। त्यस्ता व्यक्तिलाई मुद्दा लाग्दैमा आश्चर्य मान्नु हुँदैन।’ उनले खड्का परिवारले धेरै कुरा सहँदै आएको समेत दावी गरे।

स्वर्गीय खड्काको सालिक अनावरण गर्न दाङ आएका देउवाले उनको प्रशंसा र योगदानको चर्चा गरेका थिए।

उनले भने, ‘उहाँ त्यस्तो व्यक्ति हो गरेर कहिल्यै नथाक्ने, अडान भएको व्यक्ति हो। साथीको लागि ज्यान दिन सक्ने, ठूलो कष्ट सहन सक्ने व्यक्ति हुनुहुन्थ्यो। उहाँले छोडेर गएका कामहरू हामीले पूरा गर्नुपर्छ।’

खड्काको २०७४ साल चैत १६ गते निधन भएको थियो। खड्काले कांग्रेसमा महामन्त्रीको जिम्मेवारीसमेत पाएका थिए। पटक–पटक मन्त्री हुँदा पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा खड्का जेलसम्म पुगे। 

२०५८ मा विशेष अदालतमा मुद्दा परेको थियो। अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिए पनि सर्वोच्चबाट भने खड्का दोषी ठहर भएका थिए।

२ करोड ३६ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले सर्वोच्चमा २०६३ चैतमा पुनरावेदन गरेको थियो। वैधानिक रूपमा कमाएको सम्पत्ति र अन्य सम्पत्तिको अन्तरलाई अस्वाभाविक भन्दै सर्वोच्चले दोषी ठहर गरेको थियो। 

सर्वोच्चले उनलाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय रुपैयाँ बिगो र त्यति नै जरिमानाको फैसला सुनाएको थियो। उनी २०७० मा जेलमुक्त भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.