|

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने जानकारी दिएका छन्।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए। निवर्तमान अर्थमन्त्री डा महतले संसदमा प्रस्तुत गरेका आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको उनको भनाइ थियो।

आगामी १६ र १७ वैशाखमा निर्धारण गरिएको तेस्रो लगानी सम्मेलन र असारमा काठमाडौँमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) बैठक तोकिएकै समयमा हुने जानकारी पनि उनले दिए। 

मन्त्री पुनले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंक मुख्यालयसम्म पुर्याइदिन आग्रह गरेका उनको सचिवालयले जनाएको छ।  

फरक प्रसङ्गमा मन्त्री पुनले मिलेनियमन च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत हाल सञ्चालित आयोजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाए। त्यस क्रममा मन्त्री पुनले नेपाल पुँजीगत खर्च बढाउन प्रयासरत रहेको बताए। 

बिहीबारसम्म चालु आर्थिक वर्षका लागि विनियोजित पुँजीगत बजेटको ३० प्रतिशत खर्च भएको उल्लेख गर्र्दै अर्थमन्त्री पुनले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजीगत खर्च बढाउन मन्त्रीहरू र प्रशासनिक नेतृत्वलाई निर्देशन दिएको जानकारी दिए।

जवाफमा विश्व बैंकका देशीय निर्देशक जर्भोसले नेपालको विकास प्रयासमा विश्व बैंकले विगतदेखि नै सहायता गर्दै आएको उल्लेख गर्दैसहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए।

 माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत् आयोजना र दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंक र एसियाली विकास बैंकले लगानीको प्रतिबद्धता जनाएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापन टुङ्ग्याउनेगरी काम अघि बढाउनुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.