|

काठमाडौँ : सत्ता समीकरण परिवर्तन भएसँगै ‘उथलपुथल’ शब्द चर्चित छ। नेपाली कांग्रेससँगको सहकार्य तोडेर पाँचदलीय समीकरण बनाउनुलाई माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उथलपुथल भनेपछि यो शब्द चर्चित बनेको हो।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच समीकरण बनेयता प्रधानमन्त्री प्रचण्डले उथपुथल शब्द पटक–पटक प्रयोग गर्दै आएका छन्। २१ फागुनमा समीकरण फेरिएलगत्तै उनले आफू नमरेसम्म उथलपुथल भइरहने बताएका थिए। 

‘म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ,’ प्रचण्डले भनेका थिए, ‘प्रतिक्रियावादीबाट घेरा हालेर मलाई सिध्याउने धेरैचोटी कोसिस भए। तर म साथीहरूलाई भन्न चाहन्छु ठूला कुरा गर्नुभन्दा हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटोमा लाग्नुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले गएको बिहीवार (चैत १५ गते) पनि उथलपुथल गर्ने बताएका थिए। राष्ट्रिय विकास समस्या समितिको बैठकमा उनले बोलेको वाक्यांश थियो, ‘कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन।’

तर बिहीवार प्रधानमन्त्रीले उथलपुथल शब्द आफैँमाथि प्रयोग गरेका थिए। सोचेअनुरुप काम नभए वा काम गर्ने वातावरण नबने पदबाट आफैँ हट्ने बताउँदै त्यसैलाई उथलपुथलको संज्ञा दिएका हुन्।  

प्रधानमन्त्री प्रचण्डले यसरी पटक–पटक उथलपुथल भनिरहँदा कांग्रेस भने उल्टै प्रचण्डमाथि नै उथलपुथल कसरी गर्न सकिन्छ भनेर दाउ हेरिरहेको देखिन्छ। कांग्रेसका एकपछि अर्को जिम्मेवार नेताहरूले छिट्टै सत्तामा फर्किने दावी गर्नुले पनि एमालेसँग भित्रभित्रै कांग्रेसको साँठगाँठ बढ्दै गएको भन्ने चर्चालाई बल पुर्‍याउँछ। 

संवाद यात्राका क्रममा शुक्रवार (चैत १६ गते) कपिलवस्तु पुगेका महामन्त्री गगन थापाले कांग्रेसको सरकार फेरि छिटै आउने दावी गरे। ‘हाम्रो सरकार भर्खर त गएको हो, एक डेढ हप्तामात्रै भयो। फेरि आइहाल्छ’, उनले भने, ‘धेरै समय लाग्दैन। केही समयपछि फेरि आउँछ। सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ।’ 

महामन्त्री थापाले कांग्रेससँगको गठबन्धन भत्किएको पर्सिपल्ट (फागुन २३ गते) मात्र पनि माओवादीप्रति रोष प्रकट गर्दै एमालेसँग मिल्ने स्पष्ट पारेका थिए।

भिडियो सन्देशमार्फत उनले माओवादीले राजनीतिलाई जहिल्यै फोहोर बनाइराखेको भन्दै उपयुक्त समयमा उपयुक्त शक्तिसँग मिलेर माओवादीलाई ‘ठिक ठाउँमा पुर्‍याउने’ बताएका थिए। 

‘महत्वपूर्ण कुरा हाम्रो राजनीतिलाई निरन्तर अस्थिर बनाइराख्ने, जहिल्यै च्याँखे थापिराख्ने, यसलाई फोहोर बनाइराख्ने यो शक्तिलाई अब ठिक ठाउँमा पुर्‍याउनै पर्छ’, उनले भनेका थिए, ‘यसका निम्ति उपयुक्त समयमा उपयुक्त शक्तिसँग कसरी संवाद गर्ने, कसरी समझदारी बढाउने भन्नेतर्फ हामी सचेत छौँ र काम पनि गर्छौँ। अस्थिरताको पोकाहरू अब फुटाउनुपर्छ। यसलाई बोकेर हिँडिराख्नु हुँदैन।’

महामन्त्री थापाले मात्र होइन, डा. शेखर कोइरालाले पनि छिटै अर्को गठबन्धनको सरकार बन्ने दावी गरेका छन्। शनिवार (चैत १६ गते) बीपी स्मृति सामुदायिक अस्पतालको १६औँ वार्षिक साधारणसभा उनले केही दिन वा केही महिनाभित्रै अर्को गठबन्धन बन्ने दावी गरे। 

‘हामी विपक्षमा छौँ तर सत्तामा जानका लागि कोशिश गरिराखेका हुन्छौँ। यो स्वाभाविक पनि हो,’ शेखरले भने, ‘केही दिन वा केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ।’

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि अस्थिरता अन्त्यका लागि एकपटक कांग्रेस–एमाले मिल्न आवश्यक रहेको बताउँछन्। त्यसका लागि दुवै दल तयार रहेकोसमेत उनको दावी छ। अब नेतृत्व लेभलमा फाइनल हुन मात्र बाँकी रहेको नेता विश्वकर्माले बताए। 

‘मुलुकको नयाँ राजनीतिक प्रणालीलाई स्थायित्व दिन, परिवर्तनका उपलब्धिहरूको रक्षा गर्न र जनतामा विद्यमान निराशालाई आशामा बदल्नका लागि मुख्य दलहरू स्थिरतातर्फ लाग्नु अत्यावश्यक भएको कुरा दुवै दललाई महसुस भएको छ’, उनले थाहाखबरसँग भने, ‘अहिले नेतृत्वमा अलिकति आशंका जीवित छ। त्यो निवारण गर्ने काम जुन दिन हुन्छ, त्यही दिन नयाँ समीकरण बन्छ।’

त्यसो त एमाले पनि प्रचण्डबाट पटक–पटक धोका पाएको दल हो। उसले यसपटक माओवादीसँग सहकार्य अघि बढाउँदा शुरुबाटै केही आशंका गर्ने ठाउँहरू छाडेको छ।

शक्तिशाली मानिने मन्त्रालयमा अडान नलिनु र पाएको मन्त्रालयमा पनि ‘तेस्रो पुस्ता’लाई अघि सार्नुले शुरुदेखि नै एमाले वर्तमान गठबन्धनमै प्रतिबद्ध नरहेको विश्लेषण हुँदै आएको थियो।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली तत्काल कांग्रेससँग मिल्ने सम्भावना नरहे पनि भविष्यमा के हुन्छ त्यो भन्न नसकिने बताउँछन्।

‘सुदूर भविष्यमा के हुन्छ त्यो छुट्टै कुरा हो’, त्यसअघि उनले भने, ‘देशलाई प्रयोगको थलोमात्र बनाइराख्नु हुँदैन। अहिले जुन कोर्समा मुलुक अगाडि बढेको छ यसैलाई सफल पार्नुपर्छ। अहिले तत्काल यो सम्भावना छैन।’  एमालेमा कांग्रेससँग सहकार्य गर्ने/नगर्ने सन्दर्भमा दुईधार रहेको बताइन्छ।  

राजनीतिक विश्लेषक डा. लोकराज बराल भने माओवादी छाडेर एमाले अहिल्यै कांग्रेससँग गइहाल्ने आधार देख्दैनन्। त्यो आधार आगामी उपनिर्वाचनले केही हदसम्म देखाउन सक्ने उनी बताउँछन्।

‘अहिले नै प्रचण्डलाई छाडेर एमाले कांग्रेससँग गइहाल्ला भन्ने आधार त देखिँदैन। भर्खर गठबन्धन सरकार बनेको छ, केही झगडाको बिउहरू पनि बाहिरिएको छैन। के कारणले एमाले कांग्रेससँग मिल्न चाहन्छ होला र’, उनले भने, ‘अब इलामको चुनावमा कसरी जान्छन् भन्ने कुराबाट धेरथोर हेर्न सकिन्छ।’

कांग्रेस नेताहरूले माओवादीलाई दबाबमा राख्न र आफ्ना कार्यकर्तालाई ढाडस दिनमात्र छिटै सत्तामा पुग्ने दावी गरेको हुनसक्ने विश्लेषक बराल बताउँछन्।

‘कांग्रेस नेताहरूले सहकार्य हुन्छ भन्नु अनौठो होइन। उनीहरूले माओवादीलाई घुर्क्याइरहेका हुन्। हामी सत्तामा आउँदैछौँ भनेर आफ्ना पार्टीका कार्यकर्तालाई ढाडस दिन भनेका हुन सक्छ।’ 

तर नेपालको राजनीतिमा कुन वेला के हुन्छ त्यो भन्न नसकिने भन्दै कांग्रेस–एमाले मिल्न सक्ने सम्भावनालाई नकार्न पनि नसकिने उनी बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.