|

काठमाडौँ : चार दल मिलेर बनेको समाजवादी मोर्चा संयोजक परिवर्तनसँगै केही गतिशील बनेको छ। माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेकपाबीच गएको असारमा बनेको मोर्चाको नेतृत्व करिब डेढ महिनाअघि परिवर्तन भएको हो।

शुरुमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको संयोजकत्वमा अघि बढेको मोर्चा ६ फागुनदेखि नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्हालेका छन्।

आलोपालोको सहमतिअनुसार मोर्चाको नेतृत्व सत्ताबाहिरको दलका नेतृत्वले लिएपछि समय–समयमा बैठक बस्नुका साथै मंगलवार मोर्चाले नै एक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गर्‍यो। 

तर समाजवादको लक्ष्य प्राप्तिका लागि भनेर बनेको मोर्चाले अहिलेसम्म औचित्य पुष्टि गर्न भने सकेको छैन। नेपाली विशेषताको समाजवादको स्थापना मोर्चाको प्रमुख उद्देश्य भनिएको छ। मोर्चा र उद्देश्य दुवै औचित्यहीन र अस्पष्ट रहेको विश्लेषकहरू बताउँछन्। 

लेखक तथा विश्लेषक डम्बर खतिवडा मोर्चाका नाममा दलहरूले हास्यास्पद र अपरिपक्व अभ्यास गरिरहेको बताउँछन्।

‘समाजवादी मोर्चा भनेर जुन अभ्यास भइरहेको छ, यो चाहिँ हास्यास्पद छ’, उनी भन्छन्, ‘अपरिपक्व, भविष्य नभएको, राजनीतिमा कुनै स्थान नभएको, कानूनी हैसियत नभएको फोकटिया काममा उहाँहरूले समय खर्च गरिहनुभएको छ।’ 

फरक विचार, सिद्धान्त, कार्यक्रम र संगठन भएका दलहरूबीच मोर्चा बन्नुको कुनै औचित्य नदेखिएको विश्लेषक खतिवडा बताउँछन्।

‘चार दलको मोर्चा जुन छ, यी मिलेर एउटा पार्टी बने भने त एउटा खास अर्थ हुने भयो। अथवा यी चारवटा पार्टीको सिद्धान्त एउटै भएको भए पनि हुन्थ्यो’, उनी भन्छन्, ‘तर चार पार्टी चार वटै सिद्धान्तका छन्। माओवादी माओवाद मान्ने, नेकपा एस जबज मान्ने एमाले जस्तो, जसपा भनेको कम्युनिष्ट नै होइन। विप्लवको पार्टी भनेको क्रान्ति गरेर एकदलीय साम्यवादी व्यवस्था ल्याउनुपर्छ भन्ने परम्परावादी कम्युनिष्ट हो।’  

त्यसमाथि सत्तामा रहेका र सत्ताबाहिरका दलबीच मोर्चा बन्नु अझ हास्यास्पद रहेको खतिवडाको तर्क छ।

‘यिनीहरूले विपक्षमा बसेर कुनै आन्दोलन गर्न मोर्चा बनाएका भनौँ भने सत्तामा आफैँ छन्। चुनाव लड्ने मोर्चा बनाएका हुन् भनौँ भने सँगै चुनाव पनि लड्दैनन्। के औचित्य भयो र’, उनी भन्छन्, ‘राजनीतिमा कि त विचार मिलेर पार्टी एउटा बनाउनुपर्‍यो कि त चुनाव सँगै लड्नुपर्‍यो। कि त मिलेर आन्दोलन गर्नुपर्‍यो अथवा मिलेर सरकार बनाउनुपर्‍यो। यी चारवटै कुरा छैन भने राजनीतिमा मोर्चाको के अर्थ?’ 

समाजवाद उन्मुख संविधान रहेको मुलुकमा मोर्चाले फेरि कस्तो समाजवाद ल्याउने उद्देश्य राखेको भन्ने प्रश्न विश्लेषक देवेश झाको छ। संविधानमै लेखिएको समाजवाद ल्याउन कुनै मोर्चा नै बनाइरहन नपर्ने उनको तर्क छ। 

‘संविधानमै समाजवाद उन्मुख लेखिएको छ। यसको अर्थ यो राष्ट्र नै समाजवादतिर गइरहेको छ भन्ने हो। यसको लागि छुट्टै समाजवादी मोर्चा वा कुनै त्यस प्रकारको अवधारणाको आवश्यकता छैन। फेरि उहाँहरूले कुन समाजवाद ल्याउन खोज्नुभएको हो?’, उनी भन्छन्, ‘संविधानमै समाजवादको लागि त्रुटी छ भने उहाँहरू प्रष्ट हुनुपर्ने हो। कुन मोडलको के कुरा गरिरहनु भएको छ भन्ने नै प्रष्ट छैन।’ 

मोर्चाले कानूनी राज्य, मौलिक एवं मानव अधिकार, स्वतन्त्र न्यायपालिका, लोककल्याणकारी राज्यको संकल्प गरेको छ। यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण र संस्थागत विकास गरी मुलुकको विकास, समानता, सुशासन, सम्पन्नता, सामाजिक सुरक्षा, आर्थिक एवं सामाजिक न्यायसहितको अग्रगामी रुपान्तरण मोर्चाको संकल्प हो। 

यी विभिन्न उद्देश्य तथा प्रतिबद्धता अघि सारेको मोर्चा सोहीअनुसार अघि बढेको पनि नदेखिएको विश्लेषक झाको ठहर छ। सधैँ सत्तामा रहने ग्यारेन्टी नै अहिले मोर्चामा रहेका दलहरूका लागि समाजवाद हो भन्ने देखिएको उनको टिप्पणी छ।

उनी भन्छन्, ‘सदाको लागि सत्तामा बसिरहने ग्यारेन्टी नै उहाँहरूको लागि समाजवाद प्राप्ति हो भन्ने होला। अरु त के भन्न सकिन्छ र!’  

मंगलवार मोर्चाले नै आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ नामक अन्तरक्रियामा प्रकट धारणाहरूबाट पनि मोर्चाको गन्तव्य स्पष्ट नरहेको देखिन्छ। साँच्चै अब व्यवहारमा पनि समाजवाद ल्याउन मोर्चा बनेको सत्ता त्यागेर सडकमा ओर्लन विज्ञहरूले चुनौती दिएका थिए। 

संयोजक विप्लव भने मोर्चाले औचित्य पुष्टि गरेर मोर्चा अघि बढेको दाबी गर्छन्। उनले संघीयता, संविधान, राज्यप्रणाली र यसको आर्थिक ढाँचा सबै कोणबाट अपूर्ण रहेकाले यसलाई पूर्णता दिन मोर्चा बनेको र त्यो शुरुवात गरिसकेको उनी बताउँछन्।

‘लोकतान्त्रिक संघीय गणतन्त्र अपूर्ण छ। संविधान, राज्यप्रणाली, यसको आर्थिक ढाँचा सबै कोणबाट अपूर्ण भएकोले यसलाई पूर्णता दिनुपर्छ भन्ने दृष्टिकोणसहित र त्यो पूर्णता नेपाली विशेषताको समाजवादले दिने भएकोले हामी लागेको हो’, उनले भने, ‘कतिले नबुझेर पनि हुन सक्छ। अथवा आग्रह, पूर्वाग्रह राखेर भन्नेले जे भने पनि त्यसको अर्थ छैन।’   

मोर्चाको बलियो प्रभावसमेत सबैतिर परेको संयोजक विप्लव दावी गर्छन्।

‘मोर्चा बनेपछि यसले बलियो प्रभाव पारेको छ। वामपन्थी क्षेत्रका बुद्धिजीवीदेखि लिएर नागरिक समाजमा उत्साह राम्रो छ’, उनले भने, ‘पहिला संगठन विस्तारका काम भए। अहिले समाजवादको लक्ष्य प्राप्तिका लागि काम शुरु भएका छन्। हामी अन्तरक्रिया र बहसमा प्रवेश गरेका छौँ।’

संयोजक विप्लवले मोर्चाको आकार अझ विस्तार हुँदै जाने दावी पनि गरे। ‘कम्युनिष्ट र समाजवादीहरूबीच अझ विस्तार हुने सम्भावना छ। छलफल चलिरहेको छ’, उनले भने, ‘सबैको सुझाव र यसप्रतिको धारणा चाहिँ नेपालको राजनीतिमा एउटा ध्रुवीकरण  जरुरी छ र समाजवादीहरूको नेृतत्व चाहिँ यो मोर्चाले गर्ने हो।’ 

समाजवाद सडकबाट मात्र प्राप्त हुने निष्कर्षमा मोर्चा छ। मंगलवारको अन्तरक्रियामा मोर्चामा आबद्ध दलका नेताहरूले यही निष्कर्ष सुनाए।

प्रधानमन्त्री एवं मोर्चाको प्रमुख घटक माओवादी अध्यक्ष प्रचण्डलेसमेत समाजवाद सडकबाटै आउने बताए। यद्यपि यसैका लागि सत्ता र संसद्को उपयोगसमेत गर्नुपर्ने भन्दै उनले पदको बचाउ पनि गरे। 

अन्तरक्रियामा धारणा राख्ने क्रममा कतिपय विषयमा दलका शीर्ष नेताहरूको भनाइ बाझिएको थियो।

समाजवादसम्म पुग्न संविधान बाधक रहेको उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादवको धारणा थियो तर पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने समाजवादको यात्रामा संविधान सहयोगी रहेको बताएका थिए। 

प्रधानमन्त्री प्रचण्डले भने मध्यमार्गी धारणा राखेका थिए।

उनको भनाइ थियो, ‘संविधानमा समाजवादी विशेषता पनि रहेका छन् भने पुँजीवादी विशेषता पनि छन्। जसले जित्दै जान्छ, यो उस्तै बन्ने खतरा पनि छ। त्यसकारण हामीले प्रगतिशील धारतिर अघि बढाउन आपसी एकतालाई सुदृढ गर्दै जान जरुरी छ।’

यी नमिलेका सबै विषयहरूमा छलफल गर्दै जाने मोर्चा संयोजक विप्लवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.