|

काठमाडौँ : पहिलो कार्यकाल ‘बेनामी’ भएरै गुजारेको प्रदेश नम्बर १ ले दोस्रो कार्यकालको औपचारिक शुरुवात गरेको दुई महिनामै ‘कोशी’ नाम पायो। नेकपा एमाले र नेपाली कांग्रेसको जोडबलमा १७ फागुन २०७९ मा प्रदेशले उक्त नाम पाएको हो। 

आफूलाई पहिचान, सभ्यता र संस्कृतिको पक्षधर दावी गर्ने नेकपा माओवादी केन्द्रसमेतको समर्थनमा दुई तिहाइभन्दा बढी मतले ‘कोशी’ नाम पारित गर्‍यो तर करिब ५ हप्तापछि २२ चैत ०७९ मा माओवादीले केन्द्रबाटै कोशी नामकरणको विपक्षमा उभिने निर्णय गर्‍यो। जसलाई माओवादीले प्रदेश नामकरणमा भएको गल्ती सच्याएको भनेको थियो। 

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको उक्त निर्णय सुनाउँदै उपाध्यक्ष कृष्णबहादुर महराले भनेका थिए, ‘कोशी प्रदेश नामकरण भएपछि आन्दोलन उठिरहेको छ। हाम्रो पार्टीप्रति के हो अडान भनेर प्रश्न उठिरहेको छ। त्यसमा हाम्रो पार्टी स्पष्ट पहिचानको पक्षमा छ। त्यतिवेला (कोशीको पक्षमा मतदान गरेको बखत) पनि पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो‚ त्यो कमजोरी भयो।’

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड स्वयंले सार्वजनिक मञ्चबाटै पहिचानका आधारमा नाम राख्ने आश्वासन दिँदै आफ्नो पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिनुस् भन्न भ्याए।

गएको २४ साउनमा २९औँ विश्व आदिवासी दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफू पहिचान र अधिकारको आन्दोलनकै नेता भएको दावी गर्दै ०८४ का लागि मत मागेका हुन्। 

‘२०८४ मा पहिचान पक्षधरलाई टन्नै मत हाल्दिनुभयो भने सदनैबाट त्यही पारित हुन्छ’, उनको भनाइ थियो, ‘अहिलेको घटनाक्रमले नयाँ चेतना हामी सबैमा पैदा भएको छ र त्यो चेतनाको बलमा हामीले पहिचानसहितका प्रदेशहरुको नामकरण गर्न सकिन्छ।’ यस्तो अभिव्यक्तिपछि जातीय द्वन्द्व फैलाउन खोजेको भन्दै प्रचण्डको चर्को आलोचना पनि भएको थियो। 

शुरुवातदेखि नै पहिचान र सभ्यताको मुद्दा उठाउने अनि ‘कोशी’मा मत हालेपछि फेरि पहिचानकै पक्षमा छौं भनेर माओवादीले दोहोरो चरित्र देखाएको टिप्पणी त्यसैवेला भएको थियो।

प्रदेशलाई कोशी नामकरण गर्न प्रमुख भूमिका खेलेको एमालेलाई नै अहिले इलाम–२ को उपनिर्वाचनमा सघाउने भएपछि पहिचान पक्षधर माओवादीसँग थप रुष्ट बनेका छन्। 

सभ्यता र पहिचानविरोधी एमालेको उम्मेदवारलाई सघाउने निर्णयले माओवादीको दोहोरो चरित्र फेरि उदाङ्गो भएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम लिम्बुको टिप्पणी छ।

इलाम–२ मा पहिचान पक्षधरका उम्मेदवारसमेत रहेका उनले यस प्रकारको द्वैध चरित्रका कारण ०८४ सम्ममा माओवादी पूर्वबाट निमिट्यान्न हुनेसमेत चेतावनी दिए। 

‘आफूलाई पहिचानवादी भन्ने, त्यही मुद्दा उठाएर यहाँसम्म आउने। नामकरणमा त्यसरी कोशीको पक्षमा मत हालेपछि गल्ती भयो भन्ने, अनि फेरि त्यही पहिचानविरोधी एमालेलाई सघाउने। यसरी पटक–पटक द्वैध चरित्र देखाउनु सबैभन्दा दुःखद् हो’, चेतावनीपूर्ण शैलीमा उनले भने, ‘जनतालाई ढाँट्ने, छल्ने र भ्रममा पार्ने दोहोरो चरित्रका कारण यताबाट ०८४ मा माओवादी निमिट्यान्नै भएर जाने लक्षण देखियो।’ 

माओवादी बझाङको प्रदेशसभा–१ लिनेगरी इलाम–२ मा एमालेकै उम्मेदवार सुहाङलाई सघाउन तयार भएको हो। यद्यपि बझाङ माओवादीले पाउने निश्चित भने भइसकेको छैन।

महिना दिनअघि मात्र बनेको केन्द्रको सत्ता गठबन्धन दायाँबायाँ हुने भयले पनि इलाम–२ लाई लिएर एमाले बिच्काउने पक्षमा माओवादी छैन। 

माओवादी उपमहासचिव हरिबोल गजुरेल सभ्यता र पहिचान पक्षधर एक भएर जानुपर्ने भए पनि केन्द्रको सत्ता समीकरणलाई नै ध्यानमा राखेर यस्तो निर्णय गरिएको स्वीकार्छन्। 

‘हो, पहिचानको मुद्दा टुंगिएको छैन। एकतातिर पहिचान पक्षधरहरूले उम्मेदवार उठाएका छन्। यस्तोमा पहिचान पक्षधर सबै एक ठाउँ उभिनुपर्ने हो। कि त माओवादीले आफैँले उम्मेदवारी दिनुपर्थ्यो, होइन भने पहिचान पक्षधरसँग मिलेर जानुपर्ने थियो’, कोशी प्रदेश इञ्चार्जसमेत रहेका उनले भने, ‘तर त्यस्तो हुन सकेन। किनभने राष्ट्रिय राजनीतिमा जुन समीकरण बनेको छ, उता टकराव भयो भने यता असर गरिहाल्छ। आशंका पैदा हुने भएरै यसो गरिएको हो।’

इलाममा एमालेलाई सघाएपछि बझाङ प्रदेशसभा माओवादीले पाउनुपर्ने भए पनि यसको टुंगो भने लागिनसकेको उपमहासचिव गजुरेलले बताए। 

सभ्यता र पहिचान पक्षधर दावी गर्दै आएकोले माओवादीले सघाउने झिनो आशा प्रदेश १ पुनः नामकरण संघर्ष समितिलाई थियो तर शीर्ष तहमा एमाले–माओवादीबीच एकअर्कालाई सघाउने सहमति भयो।

केन्द्रीय तहमा त्यस्तो सहमति भए पनि ‘ग्राउण्ड लेभल’का मतदाता भने आफूहरूकै पक्षमा रहेको थेगिम बताउँछन्। 

‘माथिबाट त्यस्तो खालको निर्णय/निर्देशन जारी भए पनि हामीले ग्राउण्ड लेभलमा पार्टीभन्दा माथि उठेर सभ्यता, पहिचान र संस्कृतिको पक्षमा मत दिन्छौँ भन्दै हुनुहुन्छ मतदाताहरू’, उनले भने, ‘त्यसकारण उपनिर्वाचनमार्फत हाम्रो मुद्दा अनुमोदन हुन्छ भन्नेमा विश्वस्त छौँ।’  

किरात सभ्यता, पहिचान र संस्कृतिको मुद्दा बोकेर निर्वाचनमा होमिएका थेगिमलाई धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले समेत खुलेर समर्थन गरेका छन्।

बुधवार माङ्सेबुङमा आयोजित थेगिमको चुनावी सभामा सहभागी हुन उनी इलाम नै पुगेका थिए। इलाम सदरमुकाम र मंगलवारे बजारमा आयोजना हुने चुनावी सभामा पनि मेयर साम्पाङ सहभागी हुँदै छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.