|

दाङ : यहाँको प्रादेशिक आयुर्वेद चिकित्सालय  बिजौरीले वमन पद्धतिबाट उपचार सेवा शुरु गरेको छ। बालबालिका देखि जुनसुकै उमेरकालाई  फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएमा पद्धतिबाट उपचार गरिने अस्पतालको भनाइ छ।

पहिलोपटक यो पद्धतिबाट उपचार सेवा शुरु भएपछि सेवा लिने बिरामीहरू बढ्दै गएको अस्पतालको भनाइ  छ। 

आयुर्वेदको पञ्चकर्मअनुसार यो वमन थेरापी पद्धति प्रधानकर्ममा पर्ने र त्यहि अनुसार शुरु गरिएको अस्पातलका बालरोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीले बताए। अहिले बच्चाहरुमा यो पद्धतिबाट उपचार गर्न शुरु गरेको भन्दै उनले बच्चाहरुमा धेरै कफ प्रधान हुनेसमेत उनले बताए। 

उनले  भने, ‘बालबालिकाहरुमा उमेर अनुसार कफदोष बढ्ने हुन्छ। जसले गर्दा उनीहरुलाई स्वासप्रस्वास सम्बन्धि समस्या हुने, धेरै पटक रुघाखोकी लाग्ने, स्वास फर्ने समस्या हुने, दमको समस्या हुने गर्दछ। यस्तो समस्या हुनेलाई आयुर्वेदको विधिबाट गएर वमन पद्धतिबाट उपचार गरे एकदमै प्रभावकारी हुन्छ। ’ यस्तै उनले कुनै पनि बालबालिकाहरुलाई स्वास सम्बन्धि  समस्या वा दमको समस्या भएमा यो पद्धतिबाट उपचार गर्न समेत उनले आग्रह गरेका छन्।

पञ्चकर्म विधिबाट औषधि खुवाएर उपचार गरेरमा यो रोगबाट मुक्त हुने उनको भनाइ छ। उनका अनुसार यस्तो समस्या भएका बालबालिकाहरु जति चाँडो उपचार गर्न आउँछन्, उति नै फाइदा हुने गर्दछ। उनले भने,‘ यस्तो समस्या भएको थाहा पाएर चाडो आएमा छिट्टो निको हुन्छन्। तर,  ४-५ वर्षदेखि यस्तै समस्या भोगेकाहरु आएमा पटक-पटक थेरापी गर्नको लागि अस्पताल आउनुपर्दछ।’ 

अस्पतालले यो सेवा प्रदान गर्न थालेको करिब २-३ महिना भएको र यस अवधिमा २-३ जना बालबालिकाहरुको उपचार भएको र उनीहरुलाई राम्रो भएको उनले बताए। अहिले ७-८  जना बिरामीहरुले यो सेवा लिनको लागि लाइनमा रहेको भन्दै यो सेवा विशेष गरी वसन्त ऋतुमा दिँदा अझ प्रभावकारी हुनेसमेत उनले बताए।

यो समयमा कफदोष धेरै प्रधान हुने समेत उनको भनाइ छ।  जेठीमधु, मह, दूधलगायत मिसाएर बिरामीलाई खाली पेटमा खुवाइने र  खाएको  केही समयमै बमन गर्न थाल्छन् र शरीरभित्रका सबै विकार वस्तु बाहिर निकालेर  सन्चो बनाइने उनको भनाइ छ।

घोराहीबाट छोरीको उपचार गर्न आएका  तिलक थापाले पहिलोपटक यो पद्धतिबाट उपचार गर्दा छोरीलाई निको  हुने आशा रहेको बताए।  छोरीलाई लामो समयदेखि सुख्खा खोकी लागिरहेको र अन्य ठाउँमा उपचार गर्दा निको नभएपछि यस अस्पतालमा आएको उनको भनाइ छ।

उनले भने, ‘छोरीलाई सुख्खा खोकी लागेर निकै समस्या भइरहेको थियो। स्थानीय मेडिकलमा उपचार गर्दा निको भएन। एकजना आफन्तीले यस अस्पतालमा यो पद्धतिबाट उपचार हुन्छ, भन्ने जानकारी दिएपछि यहाँ आएका हौँ। उपचार पद्धति देख्दा अनौठो रहेको छ। तर, अब निको हुन्छ, कि भन्ने आस रहेको छ।’

यस्तै उनले अस्पतालमा नयाँ पद्धतिबाट उपचार सेवा भएयता पनि सबै कुरा अन्य अस्पतालको तुलनामा सस्तो रहेको समेत बताए। अस्पतालमा बेडको पनि न्यून शुल्क रहेको र खाना, नास्ता पनि निःशुल्क पाइने भन्दै उनले खुसी व्‍यक्त गरे। 

अस्पतालले पछिल्लो समय विभिन्न सेवाहरू दिँदै आइरहेको छ, भने बिरामीहरूको संख्या पनि बढ्दै गइरहेको छ। अस्पतालले सुरुदेखि पञ्चकर्म छुट्टै व्यवस्थित रुपमा संचालन गर्दै आइरहेको अस्पतालका प्रमुख डाक्टर सन्तोष कुमार ठाकुरले बताए। यस्तै, उनले वसन्त ऋतुमा वमन गर्दा राम्रो हुने भएकाले अस्पताले वमन  सेवा दिँदै आइरहेको र स्वस्थ ब्यक्तिले पनि वमन गर्दा राम्रो हुनेसमेत बताए।

यो पद्धतिबाट उपचार गर्दा बढिमा २ हजारसम्म खर्च लाग्ने र एक हप्तासम्म उपचार गर्नु पर्ने उनको भनाइ छ।  उनका अनुसार अस्पतालले आयुर्वेदमा रहेका मौलिक चिकित्सा पद्धति र प्रक्रिया खोज्दै त्यसको विकास गर्दै उपचार सेवा दिँदै आइरहेको छ।  यस्तै अहिले अस्पतालमा बिरामीहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको र ३० वटा बेडहरु पनि भरिभराउ रहेको उनले बताए।

 उनका अनुसार रोग अनुसार अस्पतालमा  रोग अनुसार थेरापिस्ट योगा, आयुर्वेद स्वास्थ्य शिक्षाका कार्यक्रमहरु पोपीडिबाट शुरु भएका छन् भने मानसिक स्वास्थ्यको लागि विशेषज्ञसहितको सेवा  प्रदान भइरहेको छ।  यस्तै  शरीर शुद्धिकरणको लागि  पञ्चकर्मको तीन स्टेप हुने र जसमा   पूर्वकर्म,  प्रधानकर्म,  पश्चातकर्मबाट सेवा दिँदै आइरहेको उनले बताए।

अस्पतालले एकपछि अर्को सेवाहरू दिँदै आइरहेको छ, तर, अस्पतालको स्तरोन्नति नहुँदा सेवा दिन समस्या भइरहेको अस्पतालको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.