|

काठमाडौँ : इलाम–२ यतिखेर सर्वाधिक चासो र चर्चाको केन्द्रमा छ। आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेकाले मात्र होइन, निर्वाचनसँगै जोडिएका अन्य विषयले पनि इलाम–२ लाई थप चर्चा दिलाएको छ।   

तत्कालीन प्रदेश १ ले ‘कोशी’ नाम पाएसँगै चर्किएको सभ्यता र पहिचानको आन्दोलन निष्कर्षमा नपुग्दै उपनिर्वाचन हुन लागेकाले मुख्यगरी इलाम–२ लाई चासोका साथ हेरिएको छ। भिन्न पृष्ठभूमिका उम्मेदवार, चुनावी इतिहास र राजनीतिप्रति बदलिँदो अवधारणाका कारण पनि इलाम–२ ले सबैको ध्यान तानेको हो।  

प्रदेशको न्वारान भएयता सभ्यता र पहिचान पक्षधर आन्दोलित छन्। ‘प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ नै बनाएर उनीहरू ‘नो कोशी’ अभियानमा छन्। 

सशक्त सडक आन्दोलनका क्रममा एक जनाको मृत्युसमेत भयो। ५ चैत ०७९ मा विराटनगरमा भएको प्रदर्शनमा प्रहरीको कुटपिटबाट घाइते भएका बेलबारी–२ का पदम लिम्बू (लाजेहाङ) को १० गते मृत्यु भएको थियो।

त्यसपछि थप सशक्त बनेका पहिचान पक्षधर पनि उपनिर्वाचनमा होमिएको छ। सडकबाट मात्र आफ्नो मुद्दा स्थपित नहुने भएपछि संघर्ष समितिका संयोजकसमेत रहेका डेकेन्द्रसिंह थेगिम लिम्बु सभ्यता तथा पहिचान पक्षधरको साझा उम्मेदवार बनेका छन्। 

सभ्यता तथा पहिचानवादी संघसंस्थाका उम्मेदवार थेगिमलाई राजनीतिक दलहरूले पनि समर्थन गरेपछि उनी प्रतिस्पर्धी उम्मेदवार बन्ने देखिएका छन्।

उपनिर्वाचन हुने भएपछि सबैभन्दा पहिला उम्मेदवारी घोषणा गरेका थेगिमलाई अहिले केन्द्रको सत्तारुढ घटक जनता समाजवादी पार्टी (जसपा) र नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि समर्थन गरेका हुन्। 

बिहीवार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम–२ मा थेगिमलाई समर्थन गर्ने निर्णय गरेको हो। प्रदेशको नामकरण बखत पनि जसपाले पहिचानसहितको नाम राखिनुपर्नेमा कडा अडान राखेको थियो। 

१७ फागुन २०७९ मा प्रदेशको नाम कोशी हुँदै गर्दा जसपा सांसद निर्मला लिम्बू प्रदेशसभामै भक्कानिएकी थिइन्। आफूहरूले राखेको किरात लिम्बुवान सगरमाथा नाम अस्वीकृत भएपछि तत्कालीन स्वास्थ्यमन्त्री रहेकी उनी पहिचानको मुद्दा बहुमतले दबाएको गुनासो गर्दै भक्कानिएकी थिइन्। 

अहिले पनि त्यही मुद्दामा अडिग रहेको सत्तारुढ जसपाले पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने निर्णय गरेको हो। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि थेगिमलाई नै सघाउने घोषणा गरिसकेको छ। शुक्रवार नेसपा प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति नै निकालेर समतामूलक समृद्धि, पहिचान र सामर्थ्यसहितको संघीयता, सुशासन–सदाचार, राष्ट्रिय स्वाधीनता र समुन्नत समाजवादका पक्षधर थेगिमलाई मतदान गर्न आग्रह गरेका छन्।

परम्परागत राजनीतिक दलहरूको सिण्डिकेट, सत्ता स्वार्थ र संसदीय राजनीतिको चंगुलबाट देशलाई अग्रगामी निकास दिन पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने निर्णय भएको नेसपाको विज्ञप्तिमा उल्लेख छ।  

थेगिमको पक्षमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि खुलेरै लागिपरेका छन्। इलाम–२ मै आयोजित चुनावीसभामा सहभागी हुनेदेखि सामाजिक संजालमार्फत पनि उनले थेगिमका लागि निरन्तर मत माग्दै आएका छन्। 

केही दिनअघि इलामको माङसेबुङ पुगेर चुनावीसभालाई सम्बोधन गरेका मेयर साम्पाङले दिनमै दर्जनौं पटक स्वतन्त्र उम्मेदवार थेगिमका लागि मत माग्दै आएका छन्।

‘यतिखेर इलाममा चुनावी माहोल तातिएको छ। सबै जना इलामेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्वतन्त्र संस्कृतिवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताएर एउटा इतिहास लेख्न म अनुरोध गर्दछु’, शनिवार विहान भिडियोमार्फत पनि उनले भनेका छन्। 

गायिका सुनिता थेगिमकी पिता भएकाले राष्ट्रिय तथा स्थानीय कलाकारहरूले पनि उम्मेदवार थेगिमलाई समर्थन गरेका छन्। विदेशमा रहेका पहिचान पक्षधरहरू पनि थेगिम जिताउने अभियानमै सक्रिय छन्। पहिचानको मुद्दाबाट डगमगिएपछि माओवादी छाडेका पूर्वमन्त्री गोपाल किराती पनि अहिले थेगिम जिताउने अभियानमै छन्। 

यसरी सबैको समर्थन पाएपछि उम्मेदवार थेगिम आफ्नो जितको आधार थप सुनिश्चित भएको बताउँछन्।

‘जसपा, नेसपा जस्ता दलहरू, पूर्वप्रधानमन्त्री र बहालवाला उपप्रधानमन्त्रीहरूको समर्थन पाउँदा खुशी लागेको छ। उहाँहरू हिजोका दिनदेखि नै हामीसँगै रहँदै आउनुभएको हो’, उनले भने, ‘अहिले उहाँरूले विवेकपूर्ण निर्णय गर्नुभएको छ। यसले हाम्रो जितलाई थप सुनिश्चित गरेको छ। हामीले उपलब्धि हात पार्छौं भन्ने नै छ।’  

हिजो आफूलाई पहिचानवादी भनेर पनि अहिले पहिचानविरोधी एमालेलाई सघाउने निर्णय गरेको माओवादी केन्द्रसँग भने सभ्यता तथा पहिचान पक्षधर रुष्ट बनेका छन्।

‘कोशी’मा मत हालेर गल्ती भएको भने पनि अहिले फेरि एमालेलाई सघाएर माओवादीले अर्को द्वैध चरित्र प्रदर्शन गरेको उनीहरूको टिप्पणी छ। यस्तो दोहोरो चरित्रका कारण आगामी आमनिर्वाचनसम्ममा पूर्वी क्षेत्रबाट माओवादी सकिने चेतावनीसमेत पहिचान पक्षधरको छ। 

केन्द्रको अर्को सत्तासीन दल एकीकृत समाजवादीका केन्द्रीय सचिव राजेन्द्र राईले किरात प्रदेश हुनुपर्ने भनेर मुख्यमन्त्री हुँदासमेत वकालत गरेका थिए। नेता राईले प्राचीन सभ्यताको सम्मान, मुलुकमा शान्ति कायम रहने र हकदावी तथा अधिकार लाग्ने भएकाले किरात प्रदेश हुनुपर्ने तर्क गरेका थिए।

तर अहिले एकीकृत समाजवादीले आफ्नै उम्मेदवार अघि सारेको छ। सत्तामा भागबन्डा नमिल्दा ‘बार्गिनिङ’का लागि मात्र उसले उम्मेदवार अघि सारेको सर्वत्र टिप्पणीसमेत हुँदै आएको छ।

पहिचान पक्षधरका साझा उम्मेदवार थेगिम भने माथिल्लो तहबाट आफ्नै उम्मेदवार अघि सारे पनि ‘ग्राउण्ड लेभल’का उसका मतदाताले आफूलाई नै मत दिने दावी गर्छन्।

‘माधव नेपालजी त पहिल्यैबाट सभ्यता, पहिचान र संस्कृतिवादी होइनन्। तर उनका कार्यकर्ता धेरै जनजाति समुदायका हुनुहुन्छ’, उनले भने, ‘त्यसकारण माथिल्लो तहबाट आफ्नै उम्मेदवारी दिएको भए पनि एकीकृत समाजवादीका ग्राउण्ड लेभलका साथीहरू पनि पहिचानकै पक्षमा छन्। उहाँरूले हामीलाई नै मत दिन्छन्। यो पक्का छ।’ 

इलाम–२ को हिसाबकिताब

​लामो समयदेखि वर्चश्व कायम राख्दै आएको भए पनि गत निर्वाचनमा एमालेले झिनो मतान्तरको जित निकालेको थियो। एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए।

कांग्रेसलाई माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलको पनि समर्थन थियो। यसरी अन्य दलको समर्थन पाउँदा पनि हारेको कांग्रेस यसपटक एक्लै चुनाव लड्नुपर्दा झन् ढुक्क छैन। 

२१ फागुनमा सत्ता समीकरण परिवर्तनसँगै अहिले माओवादीको समर्थन एमालेलाई छ तर एमाले पनि ढुक्क छैन। एकातिर आफूलाई साथ दिएको माओवादी इलाम–२ मा कमजोर छ भने सभ्यता र पहिचान पक्षधर पनि चुनावी मैदानमा छन्।

अर्कोतर्फ सत्ता साझेदारसमेत रहेका रास्वपा र एकीकृत समाजवादीले आफ्नै उम्मेदवार उठाएपछि एमालेलाई ढुक्क हुने स्थिति छैन।  

माओवादीले गत निर्वाचनमा समानुपातिकतर्फ ५ हजार १५३ मत पाएको थियो तर पहिचानका सन्दर्भमा दोहोरो चरित्र देखाएको भन्दै माओवादीकै पहिचानवादी नेता–कार्यकर्ता अहिले रुष्ट छन्। यस्तो अवस्थामा उक्त भोटसमेत पहिचान पक्षधरले काट्न सक्ने आँकलन भइरहेको छ।  

पहिचान पक्षधरको मतसमेत तान्ने रणनीतिका साथ शुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुलाई पार्टीको उम्मेदवार बनाएको रास्वपा चितवन–२ र तनहुँ–१ को नतिजा दोहोर्‍याउन चाहन्छ।

तर लिम्बु रास्वपाको पुच्छर बनेर संघीयता र पहिचानको मुद्दा पोलि खाएको भन्दै कतिपय मतदाता नै रुष्ट बनेका छन्। कमजोर संगठन रहेको रास्वपाबाट गत निर्वाचनमा उम्मेदवार बनेका प्रकाश सापकोटाले १ हजार ३८० मत मात्र ल्याएका थिए।    

गत आमनिर्वाचनमा ६ उम्मेदवार पहिचानवादी दल तथा समूहका थिए। यी सबैले गत निर्वाचनमा पाएका मतलाई जोड्दा ४ हजार १५७ हुन आउँछ।

समानुपातिकतर्फ ४४ दलले मत पाएका थिए। पहिचान आधारित दलको मतलाई जोड्दा ५ हजार ७११ हुन्छ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत तथ्याङ्कले पहिचानवादी मत तेस्रो स्थानमा भएको पुष्टि गर्छ। 

त्यसो त यसपटक आफ्नै उम्मेदवार अघि सारेका एमाले, कांग्रेस र एकीकृत समाजवादीभित्र पनि पहिचान पक्षधर मतदाता धेरै छन्। पहिचानको मुद्दाले इलामे मतादातालाई पहिलोपटक प्रभावशाली ढङ्गले ध्रुविकृत गर्न सक्छ। 

राई, लिम्बू, मगर र तामाङ इलामका मुख्य जनजाति समुदाय हुन्। जिल्लाको कुल जनसंख्यामा यी ४ समुदायको अनुपात ५२ प्रतिशत छ।

यहाँ गुरुङ र लेप्चा समुदायको जनसङ्ख्या पनि उल्लेखनीय छ। उनीहरू पार्टीभन्दा माथि उठेर एक ठाउँ उभिए यसपटक सभ्यता र पहिचानको  मुद्दा अनुमोदन हुन सक्ने देखिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.