|

काठमाडौँ : केही दिनअघि कास्की पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले भने‚ ‘कसैले केपी ओली बिनाको एमाले भने। दया लागेर आउँछ। केपी ओली नभइदिएको भए यसो गर्छु, उसो गर्छु भन्ने लाग्या होला। मैले पोहोर परार भनेको थिए, जुँगा कालाकाला भएका छन्। अहिले मेरो सबै कपाल झरेको थियो, पलाउन थालेको छ। रोपेको होइन आफैँले पलाउन थालेको छ। अस्ति नै मैले भनेँ २० वर्षजति अरू कसैले आस नगरे पनि हुन्छ।’ 

कास्की एमालेको ११औँ अधिवेशनबाट निर्वाचन पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा शुक्रवार (चैत २३ गते) ओलीले यसो भनेका हुन्। उनको यो भनाइले ‘पुराना पुस्ताले अझै कहिलेसम्म पार्टी कब्जा गर्ने?’ भन्ने अनुत्तरित प्रश्नको उजागर गरेको छ।  

२०७१ मा भएको नवौँ महाधिवेशनबाट पहिलो पटक एमाले अध्यक्ष बनेका ओली ०७५ मा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर नेतृत्वमै रहे। एमाले र माओवादीबीचको एकता अदालतको आदेशबाट भंग भएपछि पनि उनी नेतृत्वमै निरन्तर छन्। ओली ०७८ मंसिरमा चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका हुन्।

अहिले ७३ लागेका ओलीले अझै २० वर्ष आफूबिनाको एमाले कल्पना नगर्न गरेको आग्रहबाट के स्पष्ट हुन्छ भने अझै सहजै उनी नेतृत्वबाट हट्ने छैनन्, जब कि उनले झन्डै एक दशक एमालेको नेतृत्व गरिसकेका छन्। 

अध्यक्ष ओलीले २० वर्ष अरुले आश नगर्न भनेपछि दोस्रो पुस्ताका नेताहरू भने असन्तुष्ट छन् तर खुलेर विरोध गर्न सक्ने अवस्थामा पनि छैनन्। नेतृत्वमा देखिएको सोच, शैली व्यवहारबाट दलहरू लोकतान्त्रिकीकरणमा जान नसकेको स्पष्ट हुने एमालेका एक पदाधिकारी बताउँछन्।

‘हिजोको निरंकुशताबाट आइसकेपछि पनि जुन सामन्ती सोच, चिन्तनबाट लोकतान्त्रिक सोचमा विकास हुनुपर्ने हो त्यो भएन’, थाहाखबरसँग उनले भने, ‘दोस्रो पुस्तालाई अवसर र प्राथमिकता तथा नेतृत्व हस्तान्तरण जस्ता कुरामा नेतृत्व अनुदार हुनु, नेतृत्वको जुन सोच, शैली र व्यवहार हेर्दा हामी साँच्चै नै लोकतान्त्रिकीकरणमा जान सकिएको छैन भन्ने स्पष्ट देखिन्छ।’ 

ती पदाधिकारीका अनुसार दोस्रो पुस्ताले पनि सुदृढीकरण र रुपान्तरणको खाँचो नऔँल्याएका होइनन् तर आफैँमाथि निषेधको राजनीति हुने भयले उनीहरूले चुप छन्।

‘पार्टीलाई लोकतान्त्रिकीकरण, सुदृढीकरण र बलियो बनाएर जानुपर्छ भन्ने दोस्रो पुस्तामा पनि छ’, उनी भन्छन्, ‘तर त्यो लाग्दालाग्दै पनि त्यो कुरा बोल्ने, भन्ने, राख्ने सवालमा चाहिँ कोही अघि बढ्दैनन्। नेतृत्वको ‘यसम्यान’ भएन भने त्यो मान्छेले अवसर नै पाउँदैन। अलिकति आलोचना गर्ने र समस्या उठाउने बित्तिकै नजरै अर्को हुन्छ। यसले गर्दा पर्खेर बस्नुबाहेक दोस्रो पुस्ताले अरु विकल्प देखेका छैनन्।’

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालका सबैजसो दलका नेतृत्वमा आत्मकेन्द्रित प्रवृत्ति देखिएको बताउँछिन्।

‘हिजो बलिदानको राजनीति, त्यसपछि आज सुविधा, सत्ता तथा आत्मकेन्द्रित राजनीति हावी भएको देखिन्छ। यस्ता सोचबाट हामी ग्रसित छौँ’, उनी भन्छिन्, ‘अब सबै आ–आफ्नो पार्टीलाई साँच्चै रूपान्तरित गर्न गर्ने हो भने खुल्ला र स्वच्छ प्रतिस्पर्धा, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने आँट गर्नुपर्छ।’

फरक छैन कांग्रेस पनि

त्यसो त जीवनपर्यन्त नेतृत्वमा वर्चस्व जमाएर बस्ने प्रवृत्ति नेपाली राजनीतिमा नयाँ होइन। यो प्रवृत्ति नेपालका सबैजसो राजनीतिक दलका नेतृत्वमा देखिन्छ। देशको जेठो दल नेपाली कांग्रेसका ३ नेता नेतृत्वमै रहँदा दिवंगत भएका थिए, जसले बाँचुञ्जेल पद नछाड्ने प्रवृत्ति पुष्टि गर्छ। 

प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका विपी कोइराला जीवनपर्यन्त कांग्रेस सभापति रहे। उनी पहिला १३ जेठ २००९ देखि १० माघ ०१२ सम्म र दोस्रो कार्यकाल १० जेठ ०१४ देखि बाँचुञ्जेल (६ साउन ०३९ सम्म) सभापति रहे।

गिरिजाप्रसाद कोइराला पनि बाँचुञ्जेल कांग्रेस नेतृत्वमै रहे। २७ पुस ०४८ देखि कांग्रेस सभापति रहेका उनको निधन पदमा रहँदै ६ चैत ०६६ मा भयो। 

यसैगरी कोइराला परिवारकै अर्का कांग्रेस सभापति सुशील कोइरालाको पनि पार्टी सभापति रहँदै निधन भएको थियो। ६ असोज ०६७ देखि नेतृत्व सम्हालेका उनको २६ माघ ०७२ मा निधन भयो। 

कांग्रेसका प्रथम सभापतिसमेत रहेका मातृकाप्रसाद कोइरालाको निधन पनि पार्टीको नेतृत्वमा रहँदै भएको थियो। विसं २००६ मा नेपाली कांग्रेसको संस्थापक सदस्य तथा पहिलो निर्वाचित सभापति बनेका उनले विपीसँग द्वन्द्वपछि पार्टी फुटाएर नेपाल प्रजा पार्टी गठन गरे।

दुई पटक प्रधानमन्त्री बनेका उनी ०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापश्चात ०४९ मा प्रजातान्त्रिक पार्टीको अध्यक्ष बने। २६ भदौ ०५४ मा निधन हुँदा उनी पार्टी नेतृत्वमै थिए। 

अहिले शेरबहादुर देउवा दोस्रो कार्यकाल कांग्रेसको नेतृत्वमा छन्। २४ फागुन ०७२ देखि अहिलेसम्म निरन्तर उनी नै सभापति छन्।

उमेरले ७७ वर्ष पुगेका देउवा पनि सहजै सभापतिबाट हट्ने पक्षमा देखिएका छैनन् तर कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने प्रावधान छ।

त्यसो त कांग्रेस दोस्रो पुस्ताका नेताहरू नेतृत्वको सन्दर्भमा उमेरभन्दा विचार र एजेन्डा प्रधान हुने बताउँछन्। कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्व लिने/दिने सन्दर्भमा सबै पार्टीका आ–आफ्नै विधिविधान हुने र त्यसैमा टेकेर आफूहरूले भोलिका दिनमा निर्णय गर्ने बताउँछन्। 

‘कुनै पनि राजनीतिक दलले आफ्नो नेतृत्व लिने र हस्तान्तरण गर्ने कुरा आ–आफ्नो पार्टीको विधानबमोजिमका विधिहरू छन्’, उनी भन्छन्, ‘नेतृत्व हस्तान्तरण र ग्रहण भन्ने कुरा उमेरको कारणले मात्र हुँदैन। अन्य विभिन्न कुराहरू पनि हुन्छन्। विशेष गरी नेतृत्व लिने व्यक्तिको एजेन्डा र विचारले महत्व राख्छ। उमेरलाई नै लिएर नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्न मिल्दैन। नेतृत्वले कुन विचार, कुन नीति र एजेन्डा अँगालेको छ भन्ने कुरा प्रधान हो। भोलिका दिनमा त्यसैगरी गर्दै जाने हो।’

माओवादी केन्द्र पनि उस्तै

माओवादी केन्द्रमा पनि पुष्पकमल दाहाल प्रचण्डले साढे तीन दशकयता एकछत्र राज गरिरहेका छन्। ०४१ मा नेकपा मशालको केन्द्रीय सदस्य बनेका उनी ०४६ मा महामन्त्री बनेका थिए। ०४८ मा एकताकेन्द्रको महामन्त्री हुँदै प्रचण्ड ०५१ मा तत्कालीन नेकपा–एकता केन्द्रको राष्ट्रिय सम्मेलनपछि माओवादीको महामन्त्री बने।

०५२ मा शुरु भएको जनयुद्धको नेतृत्व गरेका उनी ०५७ मा अध्यक्ष बने। त्यसपछि ०६९ सालमा हेटौँडामा भएको राष्ट्रिय सम्मेलन, ०७० को विराटनगरमा भएको एकताको महाधिवेशन र ०७८ भएको माओवादी केन्द्रको महाधिवेशनबाट पनि अध्यक्ष बनेर पार्टीमा राज गरिहेका छन्।

उमेरले ७० पुगिसकेका प्रचण्ड पनि माओवादी अध्यक्षबाट हटिहाल्ने पक्षमा देखिँदैनन्। त्यसो त माओवादीमा दोस्रो पुस्ताले पनि प्रचण्डसँग प्रतिस्पर्धा गर्ने आँट देखाउन सकेका छैनन्। 

माओवादी महासचिव देव गुरुङ नेतृत्व भनेको कसैले चाहेरभन्दा पनि विचारले हुने बताउँछन्। नेतृत्व हस्तान्तरण र ग्रहण उमेर वा पुस्तासँग नजोडिनेसमेत उनको तर्क छ।

‘नेतृत्व भनेको सामाजिक विकास र आन्दोलनको विकास, वर्ग संघर्षको विकासअनुसार हुने कुरा हो। कसैको इच्छा र चाहनामा निर्भर हुने कुरा होइन। नेतृत्व भनेको पुस्ता र नपुस्ताको कुरा पनि होइन’, उनी भन्छन्, ‘पुस्ता भनेको बायोलोजिकल विषय हो भने लिडरशिप भनेको आइडियोलोजिकल विषय हो। त्यसकारण यो पुस्तासँग जोडिएको विषय होइन। आइडियोलोजिकल्ली जसको विचारको आधारमा, वर्ग संघर्षको हिसाबले जसले लिड गर्छ त्यही हो नेतृत्व।’

अध्यक्ष प्रचण्डले नेतृत्वमा रहिरहने आफ्नो इच्छा नभए पनि पार्टीमा आफ्नो उत्तराधिकारी तयार भइनसकेको बताउने गरेका छन् तर विश्लेषकहरू भने वास्तवमा उनी स्वयंले नै पार्टीमा आफ्नो उत्तराधिकारी तयार पार्न नचाहेको र तयार भएका उत्तराधिकारीलाई पार्टीबाटै लखेट्ने गरेको बताउँछन्। 

राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्, ‘उत्तराधिकारी त प्रचण्डले पार्टीबाट लखेटिहाल्छन् र आफ्ना अनुयायीलाई मात्र राख्ने उनको चरित्र हो। प्रचण्डभन्दा क्यापेबल मान्छे हिजो कति थिए–थिए तर सबै किन बाहिरिएभन्दा प्रचण्ड छाड्ने खालका मान्छे नै होइनन् भन्ने सबैले बुझे।’

कुरा साना दलका

यसरी एउटै व्यक्तिले लामो समय पार्टीमा कब्जा जमाउने प्रवृत्ति ठूलामा मात्र नभई साना दलमा पनि उस्तै देखिन्छ। एमाले, माओवादी र मधेशी जनअधिकार फोरम हुँदै अहिले जनता समाजवादी पार्टीको अध्यक्ष रहेका उपेन्द्र यादव पनि झन्डै डेढ दशकयता नेतृत्वमै टाँसिएका छन्।

पुष्पलाल श्रेष्ठकै पालामा नेकपाको सदस्यता लिएका चित्रबहादुर केसीले पनि लामो समयदेखि नेतृत्व तहमै राज गर्दै आएको छन्। उनी अहिले ८३ वर्षका छन्।

०६२ मा राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चा एकीकरण भएर जनमोर्चा नेपाल गठन भयो। ०६५ मा पार्टी विभाजित भए पनि ०६२ देखि अहिलेसम्म उनी नेतृत्वमै छन्। २६ चैत ०७७ मा बुटवलमा सम्पन्न महाधिवेशनमा उनी अध्यक्षमा दोहोरिएका हुन्। 

यो प्रवृत्तिबाट नेपाल मजदुर किसान पार्टी पनि अछुतो छैन। ०२७ सालमा पुष्पलालबाटै नेकपाको सदस्य लिएका नारायणमान बिजुक्छे नेमकिपाका अध्यक्ष हुन्, जो करिब ५ दशकदेखि पार्टी अध्यक्ष छन्।

पुष्पलालसँग मतभेद भएपछि ०३१ सालमा अलग भई नेमकिपाको स्थापना गरेका उनी सोही दिनदेखि पार्टीका अध्यक्ष छन्। उमेरले उनी ८५ वर्ष लागेका छन्।

तमलोपा, राजपा, जसपा हुँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पनि नेतृत्वमै एकछत्र राज गर्दै आएका नेता हुन्। विभिन्न दलसँग एकीकरण गर्दै भत्काउँदै लोसपासम्म पुगेका उनी पार्टीका सदाबहार अध्यक्षजस्तै हुन्। 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ यसरी दशकौँ एउटै पाको व्यक्तिले पार्टीमा कब्जा जमाएर बस्नुको प्रमुख कारणमा नेतृत्वको लोभ र दोस्रो पुस्ताको डर मिसिएको बताउँछन्।

‘पहिलो कुरा आर्यघाट नपुगेसम्म नेतृत्व नछाड्ने प्रवृत्ति अघिल्लो पुस्तामा देखिएको छ। अर्को चाहिँ पछिल्ला पुस्ताले पनि छोड्नुपर्‍यो भन्ने आँट गरेका छैनन्’, उनी भन्छन्, ‘अघिल्लो पुस्तामा धेरै लोभ र पछिल्लो पुस्तामा एकदमै डर यी दुईवटा कुरा मिलेर यो निरन्तर भइरहेको छ।’ 

पार्टीमा ‘मेजोरिटी’ नेतृत्वसँगै हुने भएकाले बोल्दा वा विरोध गर्दा आफैँलाई पाखा लगाइदिने भयले दोस्रो पुस्ता चुप लाग्ने गरेको देखिएको विश्लेषक श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, ‘पार्टीको सारा कुरा अघिल्लो पुस्ताको नेतृत्वसँगै हुने, मेजोरिटी पनि उसैसँग हुने भएकाले आफैँलाई हटाइदिन्छ कि भन्ने डर भएर आवाज नउठाउने स्थिति देखिन्छ।’ 

वर्षौंसम्म एउटै पाको व्यक्तिको नियन्त्रणमा कुनै पनि दल हुँदा सृजनशीलता हराउने र त्यसबाट स्वयं दल र देशलाई पनि नोक्सान हुने विश्लेषक श्रेष्ठ बताउँछन्। पुराना पुस्तासँग अनुभव हुने भए पनि त्यसले मात्र नपुग्ने उनी बताउँछन्। 

‘यो फिटिक्कै राम्रो कुरा होइन। अघिल्लो पुस्ताले दशकौँ पार्टी कब्जा गर्दा यसले पार्टीमा जुन सृजनशीलता हुनुपर्ने हो, त्यो समाप्त हुन्छ’, उनी भन्छन्, ‘सृजनशीलता त नयाँ पुस्तामा हुने गर्छ। पुरानामा त सृजनशीलता, लिड गर्ने, काम गर्ने सबैखाले क्षमता उमेरसँगै ह्रास भएर जान्छ। यसले पार्टी न देश कसैलाई फाइदा गर्दैन। उनीहरूसँग अनुभव त होला तर त्यसले मात्रै पार्टी र देश चल्दैन।’

कर्मचारीहरूमा जस्तै नेताहरूमा पनि ‘रिटार्यड’को उमेर हद राख्नुपर्नेमा श्रेष्ठ जोड दिन्छन्।

‘कर्मचारीहरूमा जसरी रिटार्यड हुने सिस्टम छ, त्यो भनेको मूलभूत रुपमा क्षमता ह्रास हुँदै जान्छ भनेर नै राखिएको हो’, उनको प्रश्न छ, ‘त्यो राजनीतिमा किन लागू नहुने?’   

विश्लेषक श्रेष्ठ आमजनतामा राजनीतिप्रति नकारात्मक धारणा बन्दै जानुमा असफल भइसकेका नेतृत्वले दशकौँ पार्टी कब्जा गर्नुलाई पनि प्रमुख कारण ठान्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.