|
फाइल फोटो

काठमाडौं : साइमेक्स इंक कम्पनीले काठमाडौं उपत्यकामा स्काई रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ। काठमाडौं महानगरपालिकाले करिब ६ महिनाअघि काठमाडौंमा स्काई रेल सञ्चालनको सम्भाव्यताबारे साइमेक्स इंक कम्पनीलाई अध्ययन गर्ने जिम्मेवारी दिएको थियो। उसले मंगलबार स्काई रेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रारम्भिक प्रतिवेदन महानगरपालिकालाई बुझाएको हो।

महानगरपालिकाले मेट्रो रेलभन्दा स्काई रेल सञ्चालन सहज हुने अनुमान गर्दै यसका लागि साइमेक्सलाई अध्ययन गर्ने जिम्मा दिएको थियो। साइमेक्सले तीन महिनाभित्रमा प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने साइमेक्स र महानगरपालिकाबीच गत २६ माघमा भएको सम्झौतापत्रमा उल्लेख छ। तर साइमेक्सले ६ महिनापछि मात्रै प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको छ। जसमा पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म स्काई रेल चलाउन सकिने उल्लेख गरिएको छ।

जसको रुट तिलगंगाबाट सुरु भएर एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म राखिएको छ। यही रुटलाई भविष्यमा कीर्तिपुुरसम्म लम्ब्याउनसमेत सकिने प्रतिवेदनमा उल्लेख छ।

यसैगरी महाराजगन्ज नारायणगोपाल चोकबाट लाजिम्पाट, लैनचौर, रत्नपार्क, सातदोबाटो हुँदै ललितपुरको गोदावरीसम्म स्काई रेल सञ्चालन गर्न सकिने उल्लेख छ। चक्रपथ परिक्रमाको रुटमा पनि स्काई रेल सञ्चालन गर्न सकिने साइमेक्सले जनाएको छ। साइमेक्सका अनुसार १० किलोमिटर स्काई रेलको लिक बनाउन ३० करोड अमेरिकी डलर खर्च लाग्नेछ। १० किलोमिटर लिक बनाउन दुई वर्ष लाग्नेछ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत खर्च कम लाग्ने साइमेक्सले दाबी गरेको छ। स्काई रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्नेछन् भने एउटा स्काई रेलमा आठवटासम्म डिब्बा जोड्न सकिने प्रतिवेदनमा उल्लेख छ। तर काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने स्काई रेलको हकमा भने बढीमा तीन वटा मात्रै डिब्बा जोड्न सकिने अध्ययनले देखाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.