काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन्।
मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ दोहोर्याउने कुरा एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको महासचिव पोखरेलको स्पष्टीकरण थियो। उनले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहोर्याए।
शुक्रवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लाागि लालायित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा दोहोर्याउने संकल्पका साथ नयाँ सत्तासमीकरण बनाएको उल्लेख गरे। उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आइपरे एमालेले काँग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताए।
महासचिव पोखरेलले भने, ‘हामी सत्ताका लागि लालायित छैनौँ। सत्ता हाम्रो प्राथमिकता होइन। मुलुकलाई सही बाटोमा दोहोर्याउने खालको कुरा प्राथमिकताको विषय हो भनेका थियौँ। यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौँ भनेर भनिराखेका छौँ। हाम्रो चिन्ता मुलुक र जनताप्रति हो।’
महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्तासमीकरण बन्दा पनि महत्त्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।