सुप्रिम सहकारी प्रकरण

|

काठमाडौँ : बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाड्न आदेश दिए पनि धरौटी रकम नबुझाउँदा दिपेश पुन थुनामुक्त भएका छैनन्। 

रुपन्देही अदालतका न्यायधीश डाक्टर श्रीप्रकाश उप्रेतीको इजलासले आज पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई ४ लाख धरौटीमा छाड्न आदेश दिएको छ। 

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका महासचिवसमेत रहेका पुन सुनतस्करी प्रकरणमा समेत मुछिएका छन्। रुपन्देहीबाट छुटे पनि उनलाई सुन तस्करी प्रकरणमा काठमाडौँ ल्याएर अनुसन्धान गर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको तयारी छ। 

सिआइबीले सहकारी प्रकरणकोअनुसन्धान सकेर पुनलाई काठमाडौँ पठाउन पत्राचारसमेत गरिसकेको अवस्थामा अदालतले धरौटीमा रिहा गरे पनि निस्किएनन्। पुनसहित सहकारी प्रकरणका अर्का प्रतिवादी नवीन अछामीले पनि धरौटी रकम नबुझाएका अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बताए। 

अछामीलाई  १० लाख रुपैँया धरौटीमा छाड्न आदेश भएको छ। अन्य आरोपी चार जना धरौटी रकम बुझाएर छुटेका छन्। प्रतिवादीहरु दुर्गा चापागाईँ पाण्डेले १८ लाख, दीपक न्यौपानेले ४ लाख ४५ हजार रुपैँया, निता थापामगर र रोशनी गुरुङबाट जनही दुई/दुई लाख रुपैँया धरौटी बुझाएर आदेशअनुसार रिहा भएका हुन्। न्यायधीश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.