|

काठमाडौं : आगामी ५ दिनसम्म देशको तराई भेगमा तातो  हावा चल्ने सम्भावना रहेकाले त्यसको असरबाट बच्न मौसमविद्ले तराईवासीलाई सुझाव दिएका छन्। 

 जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो ‘विशेष बुलेटिन’ जारी गरी विशेषगरी तराई क्षेत्रका नागरिकलाई आगामी ५ दिन (वैशाख १४) गतेसम्म सजगता अपनाउन अनुरोध गरेको हो। 

‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,  तातो हावा तथा तातो लहरबाट  थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ।’ महाशाखाले जारी गरेको सूचनामा भनिएको छ। 

यस्तै, काठमाडौंजस्ता उपत्यका तथा खोँच भएका स्थानमा पनि यो समयमा  तापक्रम बढ्ने सम्भावना देखिएकाले सतर्कता अपनाउन महाशाखाले निकालेको विशेष सूचनामा भनिएको छ। 

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत महाशाखाले आग्रह गरेको छ। 

विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ। लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा विगत दूई दिन देखि तथा सुदूर पश्चिम प्रदेशको तराईका भू-भागको थोरै स्थानहरूमा विगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.