|

काठमाडौँ : छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आगामी शनिवार शुरु हुने भएको छ। नेपाल हक्की संघको आयोजनामा पाँचदिने प्रतियोगिता धुलिखेलमा हुने भएको हो।

प्रतियोगिताका खेलहरू काभ्रको धुलिखेल खेलकुद मैदानमा हुने तय भएको छ। सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताबारे जानकारी दिएको हो। 

प्रतियोगितामा एक विभागीय टोली त्रिभुवन आर्मीसहित ७ प्रदेश बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेश गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

आयोजक हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल हुने जानकारी दिए।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछन्। प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। 

प्लेअर अफ द म्याचलाई ५ हजार नगद पुरस्कार प्रदान गरिने संघले जनाएको छ। ​विधागत उत्कृष्टअन्तर्गत डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडी समान १० हजार नगदबाट पुरस्कृत हुने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्। 

उनले अन्तरराष्ट्रियस्तरको हक्की रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि धुलिखेलमा जग्गा प्राप्त भएको जानकारी दिइन्। धुलिखेल नगरपालिकाको वडा–१२ मा रहेको खेलमैदान उपलब्ध भएको हो।

धुलिखेल नगरपालिकाले रंगशाला र प्रशिक्षण केन्द्र निर्माणका लागि हक्की संघलाई दिएको महासचिव श्रेष्ठले उल्लेख गरिन्। 

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले उक्त रंगशालाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको र त्यो अन्तिम चरणमा पुगेको संघको दावी छ। 

संघले प्रशिक्षक तथा निर्णायकलाई समयानुकूल परिष्कृत गर्दै लाने उल्लेख गर्दै प्रतियोगिताका दौरान एशियाली हक्की महासंघको सहयोगमा एएचएफ टेक्निकल अफिसियल कोर्स पनि धुलिखेलमा नै सञ्चालन गर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.