|
तस्वीर सौजन्य : नेपाल क्रिकेट एशोसिएशन (क्यान)

काठमाडौँ : वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १६९ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ४ विकेट गुमाउँदै १६३ रनमात्र बनाएर खेल हार्‍यो। 

गण्डकीका लागि अर्जुन कुमालले ५५ बलमा ७ चौका र १ छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे। रोशन गौतमले २३, सन्दीप क्षेत्रीले अविजित १९, कप्तान विपिन खत्रीले अविजित १७, दीपक डुम्रेले १४ तथा ईश्वर क्षेत्रीले १२ रन बनाए। 

कर्णालीका लागि कप्तान दिवान पुन, प्रकाश जैसी र युनिस ठकुरीले १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।

कर्णालीका लागि विपिन रावलले ४३ बलमा ५ छक्का र ४ चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे। रवीन्द्र शाहीले ३३, दिनेश अधिकारीले अविजित २९ तथा अर्जुन घर्तीले २८ रन बनाए।

गण्डकीका लागि अमृत गुरुङले ४ विकेट लिए। आजको जितसँगै कर्णालीले प्रतियोगितामा तीन खेल जित्न सफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.