|

इलाम : खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकामा ओलम्पियनको भ्रमण आयोजना गरिने भएको छ।

यही वैशाख २१–२२ मा नेपालबाट प्रतिनिधित्व गरेका ४० र विदेशका १० ओलम्पिक खेलाडी, खेल पदाधिकारी सूर्योदयका पर्यटकीयस्थल आउने भएका हुन्।

इटहरीमा आगामी वैशाख २० गते हुने ‘तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस् सेलिब्रेटी मिट’ पछि ओलम्पियनहरू इलाम आउने भएका हुन्।

सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडी, अन्तर्राष्ट्रिय ओलम्पियन एसोसिएसन अध्यक्ष र सदस्य, कोशी प्रदेशका सेलिब्रेटी खेलाडी २५ तथा विभिन्न मिडियामा आबद्ध १५ पत्रकार सहभागी हुनेछन्।

प्रदेश खेलकुद बोर्डको आयोजना, नेपाल ओलम्पियनन्स एसोसिएसनको संयोजन, सूर्योदय नगरपालिकाको स्थानीय व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

‘खेलकुद पर्यटन सहित सूर्योदय नगरपालिकाको पर्यटन विकासमा यस महत्वपूर्ण कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिएको छ। नेपालका दिग्गज खेलाडी तथा ओलम्पियनहरुको अनुभव बाट सूर्योदय नगरपालीका र आसपासका खेलाडीहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन्।’ नगर खेलकुद विकास समितका अध्यक्ष सौरभ आचार्यले भने

विराटनगरबाट वैशाख २१ गते दिउँसो यी खेलाडीको टोली कन्याम आइपुग्नेछ। २२ गते बिहान अन्तुडाँडाबाट दृश्यावलोकन गर्दै परिचयात्मक कार्यक्रम राखिएको छ।

त्यसपछि उनीहरूलाई नगरपालिकाले अभिनन्दन गर्ने र सबैले फोटो सेसन गर्ने कार्यक्रम राखिएको नगरले जनाएको छ। जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले विश्वका चर्चित र नेपालका ओलम्पियन विजेताले इलाम भ्रमण गर्नुले खेल क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरेको बताए। ‘अहिलेसम्म नेपालका ओलम्पिक खेलाडीको यत्रो ठूलो टिम एकैसाथ इलाम ल्याउन सकिएको थिएन,’ उनले भने, ‘यसले इलामको खेल क्षेत्रमा तरंग त ल्याउने नै छ, यहाँको खेल पर्यटनमा पनि उत्तिकै सघाउ पुग्नेछ।’ सूर्योदय नगरपालिकाले २०८३ लाई खेलकुद बर्षको रुपमा मनाउँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.