|

काठमाडौं : सरकारले यही वैशाख १६ गतेदेखि ७ वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान शुरु गर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ र आइभरमेक्टीन नामका तीन औषधि खुवाउने भएको हो।

रगत र पेटमा भएको परजीवि जुका मार्न ती औषधि खुवाइने गरिन्छ। चिकित्सकका अनुसार डीईसीले रगतमा रहेको परजीवी जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्छन्।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीका अनुसार हात्तीपाइले रोगबाट बच्नका लागि ७ जिल्लामा औषधि खुवाइने लागेको हो। 

डा मरासिनीका अनुसार  कपिलवस्तु जिल्लामा यस अघि सन्चालन गरिएको यो कार्यक्रम असफल भएपछि पुनः हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सन्चालन गर्न लागिएको हो।

महाशाखा प्रमुख डा मरासिनीले भने‚ ‘कपिलवस्तु जिल्लामा यसअघि पनि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम सन्चालन गरिएको थियो तर सफल भएन त्यसले गर्दा अहिले पुनः शुरु गर्न लागिएको हो। झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवामा नियमित कार्यक्रम हो।’

उक्त कार्यक्रमका लागि सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ। सरकारले हात्तीपाइलेविरुद्धको जोखिम रहेको ६३ जिल्लामा यो औषधि खुवाउन थालेको थियो। हाल ५३ जिल्लामा यो औषधि खुवाउन बन्द गरिसकिएको छ।

यस पटक सरकारले सात वटा जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखेको डा मरासिनीले बताए। शुरुमा नेपालमा ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेपछि अहिले ७ जिल्लामा जोखिम रहेको छ।

सरकारले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम सञ्चालन गरेर सन् २०२६ सम्म हात्तीपाइलेका रोगीलाई एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।

हात्तीपाइले रोगमा बढीजसो पुरुषको अण्डकोष सुन्निने र हात तथा खुट्टा सुनिने गर्छ। विश्व स्वास्थ्य संगठनसंगै नेपालले पनि सन् २०३० सम्म औषधि सेवनमार्फत संसारबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको  महाशाखाका निर्देशक डा मरासिनीले जानकारी दिए।

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने र औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्दा हुनै असर नगर्ने तर दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु र  विभिन्न प्रकारका रोग तथा संक्रमणबाट सिकिस्त बिरामी रहेकाहरुले भने यो औषधि खान नहुने महाशाखाले जनाएको छ।

औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने जस्ता समस्या आएपछि औषधिले प्रभावकारी काम गर्न थालेको भन्ने बुझिने डा मरासिनीले जानकारी दिए।

उनले त्यस्ता लक्षण केही घण्टामा आफैँ हराएर जाने र लामो समयसम्म लक्षण देखिए नजिकैको स्वास्थ्य सङ्घसंस्थामा उपचार गर्न अनुरोध गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.