इलाममा पाँच घण्टामा खस्यो ३० प्रतिशत मत

|

काठमाडौं : इलाम क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा १ ‘क’ मा उपनिर्वाचन अन्तर्गत अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। इलाम–२ मा १२ बजेसम्म करिब ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

इलाममा दिउँसोको समयमा पनि मौसम धेरै गर्मी नहुने, मतदाताहरु खाना खाएर आउने समय भएकाले अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ।

यस्तै, महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट प्रहरीले नक्कली मतपत्रसहित चार जनालाई पक्राउ गरेको छ। एक्जिट पोलका नाममा मतदान गरेर फर्किंदै गरेकाहरुलाई मतदान केन्द्रभित्र टेबल सेटअप गरी नक्कली मतदान गराएको पाइए पछि नियन्त्रणमा लिइएको हो।

निर्वाचन आचारसंहिताविपरीत कार्य भएको थाहा पाएपछि सो समूहको कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको छ। इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम छन्। उनीहरुका लागि ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।

उता, बझाङ प्रदेशसभा एकमा पनि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। मुख्य निर्वाचन अधिकृत सुदर्शन लासिमछानेका अनुसार १२ बजेसम्म त्यहाँ  करिब १४ प्रतिशत मत खसेको छ।

मतदाताहरु खाना खाएर आउने समय भएकाले केही बेरमा चाप बढ्ने अनुमान गरिएको छ। कुल ६१ हजार सात सय ४८ मतदाता रहेको यो क्षेत्रमो ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको हृदयाघात भएर र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज उपनिर्वाचन भइरहेको हो।

मतदान सकिएलगत्तै मतपेटिका संकलन गरी आजै मतगणना सुरु गर्ने निर्वाचन आयोग जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.