|

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले करिब एक हप्ताको प्रशिक्षण बावजुद इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारी राम्रो भएको बताएका छन्।

नेपालले यही वैशाख २४ गते इङ्ल्याण्डको एल्डरसटमा तेस्रो डिभिजन क्लब स्टोक सिटीसँग खेल्दै छ। 

सोही खेलका लागि सोमवार भएको बिदाई कार्यक्रममा कप्तान लिम्बूले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे। इङ्लिस टोलीसँगको खेलका लागि आफ्नो टोली उत्साहित रहेको उनले बताए। 

टोलीमा नयाँ खेलाडीको आगमन केही सकारात्मक पक्ष रहेको उल्लेख गर्दै ती खेलाडीले इङ्लिस फुटबलमा खेल्न पाउनु सुखद् पक्ष रहेको कप्तान लिम्बूको बुझाइ छ।

नेपाली टोलीलाई सोमवार नेपालका लागि इङ्ल्याण्डका राजदूत रब फेन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलगायतले बिदाई गरेका थिए। 

बिदाई कार्यक्रममा कप्तान किरणले नेपाली टोलीमा अधिकांश खेलाडी नयाँ रहेकाले इङ्ल्याण्डको मैत्रीपूर्ण खेल ती खेलाडीका लागि राम्रो तयारी हुने आशा व्यक्त गरे। 

विश्वकप छनोट चरणको खेलका लागि नयाँ खेलाडीलाई एक्सपोजर आवश्यक रहेको कप्तान किरणले बताए। उनले यो युवा टोली अनुभवी बन्न समय लाग्ने उल्लेख गरे। त्यसैले इङ्लिस टोलीसँग पिच सेयर गर्न पाउनुले पनि आत्मविश्वास बढ्ने उनको विश्वास छ। 

प्रशिक्षक र खेलाडीले पनि इङ्लिस टोलीकोबारे बुझिरहेको र उनीहरू शारीरिक रूपमा निकै बलियो रहे पनि आफ्नो उत्कृष्ट गर्ने कप्तान किरणले बताए।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफ्नो टोलीको तयारी छोटो भए पनि राम्रो तयरी रहेको उल्लेख गर्दै इङ्लिस फुटबलको तल्लो डिभिजनको टोली भए पनि बलियो हुने बताए। 

अधिकांश खेलाडी प्रिमियर लिग खेल्न लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ छ। पछिल्ला समय धेरै खेलाडी विदेशिएकाले यो टोली कम अनुभवी रहेको उनले बताए।

बिदाइ कार्यक्रममा इङ्ल्याण्डका राजदूत फिनले बाल्यकालका आफ्नो खेलबारे स्मरण गर्दै नेपाली फुटबललाई सहयोग गर्न आफू सदैव तयारी रहेको धारणा राखे। उनले स्टोक सिटीबाट नेपालले राम्रो नतिजा पनि पाउने आशा व्यक्त गरे।

कार्यक्रममा एन्फाका अध्यक्ष नेम्वाङले यो मैत्रीपूर्ण फुटबलको व्यवस्थापन गर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई धन्यवाद दिए। इङ्ल्याण्डमा हुने मैत्रीपूर्ण फुटबलबाट खेलाडीले धेरै अनुभव पाउने आशा उनले व्यक्त गरे। 

सो अवसरमा उनले इङ्ल्यान्डका राजदूतलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए। एन्फाले सोमवार नै नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको थियो। 

फत्तेमान घलेलाई पहिलोपटक समेट्दै नेपाली टोली घोषणा भएको छ। एनेसले सोमवार किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।

नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल, विशाल सुनार, डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन्। 

मिडफिल्डरमा फत्तेमानसहित मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बू तथा फरवार्डमा दिनेश हेन्जन, अञ्जन बिष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव बिष्ट छन्। 

एन्फाका सदस्य मनिष जोशीको नेतृत्वमा नेपाली टोली इङ्ल्याण्ड जाँदै छ। टोलीको प्रशिक्षण टोलीमा प्रवेश कटवाल र विनोद महर्जन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.