|

काठमाडौं : नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताएका छन्।

इलाम-२ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उनले मंगलबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव रिमालले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गरे। कोशी प्रदेशको नामाकरण गलत भन्नेहरू, त्यस सन्दर्भमा चपाएर बोल्नेहरू उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उनको भनाइ थियो

उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रुपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरूलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गरे। उनले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताए।

उपमहासचिव रिमालले कांग्रेस र एमालेबीच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको बताए। उनले एमालेले चाहने भने भने शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएपनि त्यसो गर्न जरुरी नरहेको बताए।

उपमहासचिव रिमालले भने, ‘तत्कालका लागि कांग्रेससँग सत्ता सहकार्यको सम्भावना छैन। हामी एउटा समीकरणमा छौं, कांग्रेसहरूले पहिला समीकरण बनाए। अहिले यतिखेर चाँही त्यो सम्भावना छैन। अहिले एमाले र कांग्रेसबीच नयाँ समीकरण बन्दै बन्दैन। अहिले एमालेले चाहेर बनाउने भनेको के हो भने शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउने हो। त्यो हामीलाई के जरुरी छ र ? त्यो जरुरी नै छैन नि।’

उपमहासचिव रिमालले एमाले वर्तमान सत्ता समीकरणलाई पूरै कार्यकाल कामयै राखेर अघि बढ्न लागिपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.