|

काठमाडौं : कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बिहीबार नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रसहित आजै प्रदेश प्रमुख समक्ष नयाँ सरकारका लागि दाबी पेश गर्ने एमाले संसदीय दलका उपनेता रामबहादुर राना मगरले जानकारी दिए। 

एमालेका ४० र माओवादी केन्द्रका १३ सांसदको हस्ताक्षरसहित एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न बिहान ११ बजे दाबी पेश गरिने उनले जानकारी दिए। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन भए पुग्छ। उपेनता रानाका अनुसार मुख्यमन्त्री कार्कीको नियुक्ति र शपथ पनि बिहीबार नै गर्ने तयारी गरिएको छ। 

आज मुख्यमन्त्री बाहेक एमाले र माओवादीका एक-एक जना मन्त्रीले पनि शपथ ग्रहण गर्ने रानाले बताए। केन्द्रीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी भने अझै  केदार कार्की नेतृत्वको सरकारमै सहभागी छ। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गरी गएराति संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नै शुक्रबारसम्म अर्को सरकार गठनका लागि आह्वान गरेका हुन्।

केदार कार्की नेतृत्वको सरकारले बहुमत गुमाएको तर विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएको भन्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएका हुन्। यसविरुद्ध नेपाली कांग्रेसले भने अदालत जाने तयारी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.