|

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाएका छन्।

डेढ वर्ष प्रधानमन्त्रीको प्रसताव गरेको कांग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण राजनीतिक गरिरहेको ओलीको आरोप थियो। 

शुक्रवार पार्टी संसदीय दलको बैठकमा उनले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयलेसमेत स्पष्ट पारेको जिकिर गर्दै यस्ता कुरामा संसदीय छानबिन समितिको माग गरेर कांग्रेसले राजीनामा माग्ने खेल शुरु गरेको दावी गरे। 

‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ– केही पनि छैन। उहाँहरु विभिन्न पृष्ठमा नाम उल्लेख भएका कुराहरु खोजेर हिँड्नुहुन्छ। योभन्दा अगाडिको बैठकमा भन्नुभयो- सहकारीको अवस्थाको बारेमा छानबिन गरौँ। मैले भनेँ अब सहकारीको अवस्थाको बारेमा के छानबिन गर्ने?‚’ उनले भने, ‘सहकारीमा बेथिति भएको छ कि छैन? भन्दा छ। हिनामिना भएको छ कि छैन? भन्दा छ। सहकारीमा लगानीकर्ताहरु डुबाइएको छन् कि छैनन् भन्दा छ। कुन कुन सहकारीको अवस्था के छ, त्यो पनि थाहा छ। अब रिसर्च गर्ने त्यो भन्दा?’

पहिला प्रधानमन्त्रीको प्रस्ताव गरेको कांग्रेसले फेरि लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिश गरेर छुद्र राजनीति गरेको ओलीको भनाई थियो।

‘केही पनि नहुँदा समिति बनाउ भन्ने, समिति बनेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद छानबिन गर्नु परेपछि मन्त्रीको पदमा बस्न मिल्छ? उपप्रधानमन्त्री, गृहमन्त्री भएर झण्डा हल्लाउन मिल्छ? छानबिनलाई प्रभावित गर्दैन पुलिसले? अनि गृहमन्त्री कसरी पदमा रहन सक्छ भन्ने‚’ उनले भने‚ ‘छानबिन समिति बनाईसकेपछि तत्काल उहाँहरुले शुरु गर्नुहुन्छ राजीनामाको खेल। एकातिर डेढ वर्ष तपाईं प्रधानमन्त्री भइदिनुस्‚ यो समीकरण छोडिदिनुस्, हाम्रो गठबन्धनमा आउनुस्। डेढ वर्ष प्रधानमन्त्री खाईदिनुस् भन्न जाने। त्यो हुन्न भनेर त्यो कागजको सम्झौतामा सही नगरेपछि अनि विभिन्न फाइल बोकेर रिसर्च गर्नुपर्ने। नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन। राजनीतिमा यस प्रकारको छुद्र खेलहरु खेलिनु हुँदैन। प्रतिशोधी र स्वार्थकेन्द्रित राजनीति राजनीति होइन।’

ओलीले कसैले उजुरी हालेको भरमा छानबिन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरु नरहेको अडान पनि राखे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.