|

धनकुटा : धनकुटामा जारी १६ औँ शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश गरेको छ। धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३–० गोल अन्तरले हराउँदै बिर्तामोड उपाधि नजिक पुगेको हो।

खेलको ४३ औं मिनेटमा बिर्तामोडका अनिश लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको ४६ औं मिनेटमा आयोजक टोलीका गोलकिपर प्रदीप भण्डारीले डिबक्स बाहिर बिर्तामोडका खेलाडीलाई लडाएपछि रातो कार्ड पाएर बाहिरिएपछि आयोजक १० खेलाडीमा सीमित भयो। खेलको ३७ औं मिनेटमा झापाका असीम चापागाईं र ४५ औं मिनेटमा धनकुटाका बुद्ध चेम्जोङले रेफ्रीलाई हात हालेपछि पहेँलो कार्ड पाए।

खेलको दोस्रो हाफको ४७ औं  मिनेटमा अभिषेक गुरुङले गोल गर्दै खेल २–० गोलको अग्रता दिलाए। खेलको ६६ औं मिनेटमा आयोजक टोलीका पदम भट्टराईले आत्मघाती गोल गरेपछि झापाले ३–० को अग्रता बनायो। दोस्रो हाफको इन्जुरी समयमा झापाका रोहित न्यौपानेले धनकुटाका किपरलाई फल गरेपछि पहेँलो कार्ड पाए। खेलमा झापाका मौसम लिम्बू म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार ५ हात पारे।

दर्शकको राम्रो साथ पाए पनि १० खेलाडीमा सीमित भएपछि आयोजक टोलीले पटकपटक गोल गर्ने मौका गुमाउँदा पराजित हुन पुग्यो। दोस्रो सेमिफाइनलमा बिर्तामोडले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेता विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। एपीएफ बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। शहीद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.