|

पर्वत : पेटसम्बन्धी उपचारका लागि गण्डकी अस्पताल पोखरामा पुगेका पर्वतका एक वृद्ध बेपत्ता भएका छन्। पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटास्थित बुधुन्गामा घर भएका करिब ६५/७० वर्षका चन्द्रबहादुर चापागाईँ उपचारपछि अस्पतालबाट निस्किने वेलामा सम्पर्कविहीन भएका हुन्। 

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार अस्पतालबाट निस्किएका उनी पृथ्वी चोकको एक होटलमा खाजा खाएको र त्यो वेला साँझको करिब सवा पाँच बजेको सीसीटिभी फुटेजबाट खुलेको छ।

उनको उपचारमा सघाउन गएका नाताले भतिज पर्ने नवीन रिजालले उपचारको क्रम सकिन लागेको र रिपोर्ट लिनका लागि आफू लाइनमा बस्न जाँदा उनी हराएका बताए। आधा घण्टाको अन्तरालमा उनी हराएका  थिए।

उपचारपछि आफूले सँगै घर फर्किने बताए पनि आफू फर्केर आउँदा उनी त्यहाँ नभएको र के कारणले निस्किए भन्ने पनि थाहा नभएको उनको भनाइ छ। पाल्पाली ढाका टोपी, कालो इस्टकोट, सेतो रङको टाटेपाटे कमिज लगाएका, खुट्टामा कालो जुत्ता लगाएका, कालो झोला भिरेका र झोलामा हिमालयन आँखा अस्पतालको रिपोर्ट बोकेका चापागाईँको झोलामा कपडाहरू पनि रहेका भतिज रिजालले बताए।

पृथ्वी चोकबाट निस्किएपछि राति करिब आठ बजेको समयमा बाटुलेचौरमा पुगेका र त्यहाँ एउटा पसलमा खाना खाएपछि उनलाई स्थानीयले प्रहरीसँगको सम्पर्कमा बगरमा लगेर छाडिएको पछि पत्ता लागेको छ। 

त्यहाँबाट प्रहरीले वडाध्यक्षसँग सम्पर्क गर्दा चापागाईँलाई आफूले चिनेको र पठाइदिए हुने बताएपछि कुश्मा–बागलुङतर्फ छुट्ने बसमा चढाइएको जानकारी आएको उनले बताएका छन्। त्यसपछि कहाँ गए भनेर थाहा हुन नसकेको उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.