|

हेटौंडा : बागमती प्रदेशले आर्थिक वर्ष २०८१।०८२ को बजेटका सन्दर्भमा संघीय पूर्वअर्थमन्त्री, बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा सदस्यहरूसँग छलफल गरेको छ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्य तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको अध्यक्षतमा मन्त्रालयले काठमाडौँमा छलफल गरेको हो।

कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. खतिवडाले देशको समग्र आर्थिक विकासका लागि विभिन्न सुझाव दिए। उनले प्रदेशभरि विकासमा एकरूपता ल्याउनुपर्ने र स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने बताए।

पूर्वमन्त्री डा. खतिवडाले पर्यटन क्षेत्रको पूर्वाधार विकासमा लगानी गर्नुपर्ने र लैङ्गिक असमानता अन्त्य गर्नुपर्नेमा जोड दिए। खतिवडाले कुपोषण हटाउनुपर्ने र जलविद्युत् क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। युवा, नवप्रवर्तन र कृषि क्षेत्रमा लगानी गर्नुपर्ने र बायोग्यास तथा गोबरग्यास उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ। प्राङ्गारिक खेतीमा जोड दिनुपर्ने र कृषि आयोजनामा महानगर, उपमहानगर, नगर तथा गाउँपालिकाका लागि फरक मापदण्ड बनाउनुपर्ने खतिवडाको धारणा छ।

प्रविधिक शिक्षामा लगानी बढाउनुपर्ने र प्रदेशमा संघीय सरकारको बजेट शीर्षक नदोहोरिने गरी बजेट बनाउनुपर्ने उनको राय छ। उत्पादनमुखी होइन, वितरणमुखी बजेट निर्माणमा प्रतिस्पर्धा भइरहेकाले सरकारी खर्च स-साना काममा मात्र भएकाले अपेक्षित आर्थिक विकास हुन नसकेको उनको विश्लेषण छ।

यसैगरी पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्रोत हेरेर मात्र छलफल गरी बजेट बनाउनुपर्ने बताए। अनुत्पादक क्षेत्रमा लगानी नगरी उत्पादनसँग जोडिएका क्षेत्रहरूमा मात्र लगानी गर्न उहाँले सुझाव दिए। दुग्ध क्षेत्रलाई उद्योगसँग जोड्न र पर्यटन क्षेत्रलाई आकर्षक बनाउन विभिन्न कार्यक्रम बनाउन पनि उनले सुझाव दिए।

यसैगरी राष्ट्रियसभाका पूर्व सदस्य एवम् बागमती प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. खिमलाल देवकोटाले आन्तरिक स्रोत दरिलो पार्दै बजेट विनियोजन गर्दा सीमा तोक्नुपर्ने बताए।

बागमती प्रदेशका पूर्वमन्त्री कैलास ढुङ्गेलले कृषि, पर्यटन र विद्युत् क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताए।

पूर्व आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बजेटलाई सन्तुलित र आवश्यकतानुसार बनाउन सुझाव दिए।

आर्थिक मामिला तथा योजना मन्त्री थपलियाले प्रदेशलाई आत्मनिर्भर बनाउने सोचका साथ अगाडि बढ्ने बताए। बजेट बनाउने सन्दर्भमा छलफलबाट आएका सुझाव मार्गदर्शकका रूपमा रहने पनि उनको भनाइ थियो।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष डा. नरविक्रम थापा, सदस्य डा. दीपेन्द्र श्रेष्ठ, प्रदीपकुमार मैनाली, नीलम ताम्रकार, पूर्व उपाध्यक्ष डा. कृष्ण पन्त, डा.होमनाथ चालिसे, डा. जगत बस्नेत, पूर्व कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत, पूर्व सदस्य प्रह्लाद लामिछाने, यमुना कँडेल, मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीलगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.