|

काठमाडौँ : काठमाडौँको बौद्धमा ​२५६८औँ बुद्ध जयन्तीका अवसरमा आजदेखि पाँच दिने कला प्रदर्शनी सुरु भएको छ।

बुद्धका विभिन्न आयामलाई कलामा समेटेर प्रदर्शनी थालिएको र उक्त प्रदर्शनीबाट आएको रकमको केही प्रतिशत असहायहरुका लागि सहयोग गरिने आयोजक प्रतिनिधि आर्ट बुमका अध्यक्ष रत्न शाक्यले जानकारी दिए।

यहाँ ५ दिनसम्म चल्ने उक्त प्रदर्शनीमा २० जना कलाकारले बनाएको ३० वटा सिर्जनाले स्थान पाएको छ। प्रदर्शनी आर्ट बुम, द स्प्रिचुअल आर्टस् र ललितकला गुठी तथा एला आर्ट ग्यालरीको संयुक्त आयोजनामा सुरु भएको हो। 

सेवाभाव राखेर आयोजना गरिएको यो प्रदर्शनीको उद्देश्य हिंसात्मक बाटोमा गइरहेको विश्व समुदायका लागि शान्ति र करुणाको सन्देश दिने प्रयास पनि रहेको आर्ट बुमका अध्यक्ष समेत रहेका शाक्यले जानकारी दिए।

प्रदर्शनीमा अग्रजदेखि नवकलाकारका सिर्जनाहरु समेटिएको छ। यसपटक बुद्ध भगवानका विषयमा नै काम गरिएको उनले बताए।

शाक्यले भने, “हामी कलाकारले विभिन्न चाडवर्ज तथा उत्सवमा आर्टमार्फत प्रस्तुत गर्न सक्छौँ, शिवरात्रीमा शिवको, होलीको समयमा रङका विषयमा कला गतिविधि गर्ने गरिएको छ । सोही अनुसार यसपटक बुद्ध जयन्ती रहेकाले बुद्ध भगवानसँग केन्द्रित कला प्रदर्शनी थालिएको हो।”

यो समूहसँग यसअघि एक्लै र सामुहिकरुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय काम गरिसकेको अनुभव छ। उक्त समूहले सात महिना अघि मात्रै नेपाल, बंगलादेश, फ्रान्स, भारत र बेलायतका कलाकार बोलाएर कार्यशाला र प्रदर्शनी गरिसकेको छ। 

“यो आर्ट गतिविधि गरेर अघि बढिरहेको युवा कलाकारको समूह हो। हामी आर्ट नै गर्ने हो, हाम्रो अरु पेशा छैन, समाजका विषय उठान गर्दै नेपाली कला सँस्कृति चिनाउन कलामार्फत योगदान दिँदै आएका छौँ”, ललितकला गुठी तथा एला आर्ट ग्यालरीका अध्यक्ष उत्तम डंगोलले भने।

उनले यहाँबाट आएको आम्दानीको केही प्रतिशत मानव सेवा आश्रमकमा रहेका बेसहाराहरुका लागि सहयोग गर्ने बताए। द स्प्रिचुअल आर्टस्का अध्यक्ष सजिव शाक्यले पवित्र उद्देश्यसहितको प्रदर्शनी भएकाले पनि थप उत्साहित रहेको बताए।

सन्सारमा युद्ध भइरहेको छ । स्वार्थको राजनीति र द्वन्द्व चर्किरहेको छ । बुद्धको सन्देश माया, प्रेम, करुणा, मैत्री अहिंसा हराउँदै गएको हो की भन्ने अनुभव त्यहाँबाट हुन्छ। मनिसहरु आफ्नो फाइदाका लागि मात्रै काम गरिरहेका छन्। राम्रा काम अवशेषको रुपमा देखिने बेला भयो।

त्यसैले करुणामैत्री कामलाई आत्मसाथ गर्दै केही सन्देश जान सक्ला की भनेर यसपटक बुद्धजयन्तीका अबसर पारेर कला प्रस्तुत गरिएको आर्ट बुमका अध्यक्ष रत्न शाक्यले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.