|

४० वर्ष उमेर पुगेपछि महिलामा हुने मानसिक र शारीरिक परिवर्तन हुन्छ। यो वेला खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यसै विषयमा न्युज एजेन्सी नेपालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीना थापासँग गरेको कुराकानीको सम्पादित अंश।

४० वर्षमाथिका महिलाको स्वास्थ्य अवस्थालाई कसरी हेर्नुपर्छ ?

४० वर्ष नाघेपछि महिलाको स्वास्थ्य अवस्थामा धेरै परिवर्तन आउँछ। ४० वर्षको उमेरपछि महिनावारी सुक्ने प्रक्रिया शुरु हुन्छ। सबै महिलाको उस्तै उमेरमा सुक्छ भन्ने पनि छैन। महिनावारी सुक्नु भनेको प्रजनन क्षमता कम भएको भन्ने बुझिन्छ। ४० वर्ष पुगेपछि सन्तानले आमा एकदमै रिसाएको रिसायै गर्ने, बुझाउन गाह्रो भयो भन्ने हुन्छ। श्रीमान्‌ले पनि एकदमै धेरै किचकिच गर्छ्यौ भन्ने खालको हुन्छ। त्यो सबै हर्मोनको कारणले गर्दा भएको हो। विशेषगरी इस्टोजिन हर्मोनको कमी हुँदै जान्छ। त्यो कारणले गर्दा यो समस्या देखापरेको हो।

यो वेला प्रायः महिलाहरू मानसिक र शारीरिक द्वन्द्वमा हुन्छन्, के यो सही हो ?

४० कटेपछि हर्मोनमा परिवर्तन आउँदा मानसिक बदलाव देखिन्छ। उदास हुने, दिक्क मान्ने, पहिला गरेको काम पनि किन गरेको छु भनेर पछुताउने। छटपटी हुने, निद्रा नलाग्ने, पुरानो कुरा सम्झेर बस्ने, यौनचाहना कम हुँदै जान्छ। शरीर अचानक तातो हुने, एक छिनमा फेरि चिसो हुन थाल्छ। महिनावारी सुक्ने वेला ७० प्रतिशत महिलामा त्यो देखिन्छ। त्यसैगरी राति निद्रा नलाग्ने, योनिद्वार सुक्खा हुँदै जाने जस्ता समस्या देखिन थाल्छ।

यस्तो समस्या छ भनेर महिलाहरूले कसरी थाहा पाउने ?

महिलाहरूले यस्तो समस्या छ भनेर भन्नुहुन्छ, परिवारका अरू सदस्यले त्यसलाई समस्या मान्दैनन्। महिलाले मलाई एकदमै छटपटी हुन्छ। घरपरिवार र आफन्तले तँलाई मानसिक रोग लागेछ भन्ने हुनसक्छ। त्यो साँच्चिकै मानसिक रोग हो कि हर्मोनको कारणले भएको हो भन्ने थाहा पाउन डाक्टरकोमा आउनुपर्ने भयो।

भनेपछि यो समस्या घरपरिवारले नबुझ्दा भएको हो ?

हो। त्यो बुझ्दाखेरी त्यसलाई समस्याको रूपमा लिन नसकिएको हो। अथवा त्यस्तो हुन्छ भनेर महसुस नगर्दा पनि त्यस्तो हुन्छ। यस्तो अवस्थामा मानसिक समस्या हुनसक्छ, फिजिकल समस्या हुनसक्छ भन्ने कुरा घरपरिवारका सदस्यले जानेको भए महिनावारी सुक्न लागेर पो त्यस्तो भएको हो कि। एकचोटी प्रसूतिरोग विज्ञकहाँ भेटौँ न भन्ने हुन्थ्यो। ४० वर्ष कटेपछि जाडो हुने, गर्मी हुने, चिडचिडाहट हुने, निद्रा लाग्न छोड्यो भन्न थाले महिनावारी सुक्न लागेर हो कि भन्ने बुझ्नुपर्छ।

यो समस्याको निदान र स्वास्थ्य हेरचाह चाहिँ कसरी गर्ने?

४० वर्षको उमेरमा मान्छे मानसिक रोगी हुँदैन भन्ने त छैन। त्यस्तो वेला मानसिक समस्या केही आएछ भने मानसिक रोगको विशेषज्ञकहाँ गएर प्रसूतिरोग विशेषज्ञकहाँ आउन सक्छ। कतै यो हर्मोनले हो कि भनेर पहिला मानसिक रोगको विशेषज्ञकहाँ गएर पछि मानसिक विशेषज्ञकहाँ जान पनि सकिन्छ। त्यसैगरी ४० वर्ष उमेर पुगेका मानिसलाई हर्ट प्रोसेज भन्छौं हामी। राति तातो हुने, चिसो हुने, एक्कासी जुरुक्क उठ्ने। अथवा मेरो छाला एकदम सुक्खा भएर गयो, योनिद्वारतिर सुक्खा हुन थाल्यो भने यस्तो अवस्थामा महिनावारी सुक्ने वेला भएको हो कि भनेर एकचोटी प्रसूतिरोग विशेषज्ञलाई भेट्न जरुरी हुन्छ।

त्यो सचेतता कस्तो पाउनुभएको छ ?

अहिले बिस्तारै यो कुरामा सचेतता बढ्दै गएको छ। पहिलाको हेरीकन अहिले बढे पनि पर्याप्त छैन। पढेलेखेको मान्छेलाई पनि यस्तो हुन्छ भनेर थाहा छैन। हर्ट प्रोसेजकाले काठमाडौंमा उपचार गरेर भारतमा गएर उपचार गर्दा पनि निको नभएर पछि मकहाँ आएर मैले हर्मोनको उपचार गरेपछि निको भएको पनि छ। यस्तो पनि हुनसक्छ है भन्ने थाहा नभएर यस्तो भएको हो नि।

यसको उपचार पद्धति के हो ?

यो वेला हुने सबभन्दा ठूलो समस्या भनेको महिनावारी घटबढ हुने समस्या हो। त्यो वेला चाहिँ हामीकहाँ आउनुहुन्छ। महिनावारी कहिले एक महिनामा त कहिले तीन महिनामा त कहिले १५ दिनमा हुने हुन सक्छ। त्यस्तो अवस्थामा हामीकहाँ आइपुग्नुहुन्छ। त्यो हामीले बुझाउँछौं। महिनावारी सुक्ने वेला हर्मोन चाहिनेभन्दा कम हुँदै गयो। त्यो समस्या धेरैलाई हुन्छ। त्यसको उपचार पनि छिटो हुन्छ। हर्ट प्रोसेस तातो भयो, चिसो भयो। अथवा सुक्खा हुन थाल्यो। पिसाब पोल्ने, चिलाउने हुन थाल्यो भने यो चाहिँ अर्कै समस्याको पो हो कि भनेर बुझ्नुहुन्छ।

४० कटेपछि हड्डी साह्रै कमजोर हुँदै जान्छ। यो समस्या पुरुषमा पनि हुन्छ। महिलाहरूको चाहिँ महिनावारी सुक्ने वेला त्यो प्रक्रिया धेरै छिटो हुन्छ। यसअघि एकदमै मन्द हुन्छ तर महिनावारी सुकेपछि हड्डीको डेन्सिटी घट्ने प्रक्रिया तीव्र हुन्छ। त्यसकारण त्यो चाहिँ ठूलो समस्या हो। डेन्सिटी घट्यो भने हड्डी छिटो भाँच्चिन्छ।

महिनावारी सुक्ने वेलादेखि सुकिसकेपछि मुटुको समस्या देखिन्छ। हृदयघात हुने समस्या बढ्दै जान्छ। यस्तो अवस्थामा मधुमेह र रक्तचाप बढ्न सक्छ। थोइराइड बढ्ने भन्ने चाहिँ थाहा भएको छैन तर सबै उमेर समूहका महिलामा थोइराइडको समस्या देखिने भएकाले ४० वर्षपछि पनि त्यो समस्या देखिन्छ। रक्तचाप, मधुमेह, हड्डी खिइने, पिसाबसम्बन्धी समस्या पनि बढ्छ।

हाम्रो देशमा यसको उपचार कस्तो छ ?

यो वास्तवमा जनस्वास्थ्यको समस्या यो। हामीले उहाँहरूलाई व्यायाम गर्ने, खानपानमा ध्यान दिने, आफूलाई समाजीकरण गर्नुभयो भने मानसिक र केही शारीरिक समस्या पनि हल हुन्छ। त्यसले गर्दा पनि भएन भने जुन हर्मोनको कारणले त्यो समस्या भएको थियो, त्यो दिन मिल्छ। तर त्यो आफैँमा सुरक्षित होइन। यसको खराब असर पर्छ। यो उपचार सबै स्त्रीरोग विज्ञहरूले गर्न सक्नुहुन्छ।

तपाईंकोमा यसको उपचार सेवा कस्तो छ ?

सामान्यतया स्त्रीरोग विशेषज्ञले हेर्छौं। त्यहाँ भएन भने हृदयरोग विभागमा पठाउँछौं। हर्मोन दिनुपर्‍यो भने उपचार दिने हामीले नै हो। ४० वर्ष पुगेपछि आफ्नो शरीरका लागि पनि हेर्नुपर्ने भयो है भन्ने बुझ्नुपर्छ।

यो उपचारका लागि नेपालमा कति खर्च हुन्छ ?

हामीले यहाँ एकदम सस्तो उपचार दिइराखेका छौँ। हामीकहाँ एकदमै विशेषज्ञ डाक्टरहरू नै हुनुहुन्छ। सामान्यबाट आउँदा ५० रुपैयाँको टिकट काटेर डाक्टरलाई भेट्न सक्नुहुन्छ। बिएमडी वा इसिजी गर्नुपर्ला। त्यो पनि सरकारी अस्पतालमा जस्तै छ। कुनैमा त त्योभन्दा पनि सस्तो छौं। हाम्रोमा उपचारका लागि त्यस्तो महँगो छैन। जस्तो पाठेघरको मुखको क्यान्सरको उपचार ११ सयमै गर्छौं। त्यो अन्य ठाउँमा हुँदैन। उपचारको हिसाबले यहाँको उपचार साह्रै सुलभ छ।

४० वर्ष कटेपछि आकस्मिक रूपमा कुनै जोखिम हुनसक्छ ?

यसको कारण ठूलो समस्या हृदयघात हुनसक्छ। हड्डी खिइने क्रम तीव्र हुनाले भाँचिन्छ कि भनेर सजग हुनुपर्छ। त्यसकारण ४० वर्ष पुगेपछि महिलाले ध्यान दिनुपर्ने हुन्छ। पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ कि छैन भनेर टेस्ट गर्दै छौं। कुनै समस्या छ कि छैन भनेर सामान्य स्वास्थ्य परीक्षण गरिनेछ। मुटु रोग, मधुमेह छ कि छैन भनेर परीक्षण गर्ने गरेर हामी एउटा प्याकेज शुरु गर्दै छौँ।

४० वर्ष उमेर कटेपछि कस्तो खानपानमा ध्यान दिनुपर्छ ?

यो उमेर लागेपछि महिलाहरू मोटाउँदै जानुहुन्छ। शरीरको बीच भागमा बढी बोसो लाग्न थाल्छ। त्यसले मुटुको रोग र मधुमेहलाई निम्त्याउँछ। त्यसो हुनाले उहाँहरूले व्यायामका साथै खानपानमा ध्यान दिनुपर्छ। खानपान घटाउँदै जानुपर्छ। क्यालोरी इन्टेक पहिला २ हजार लिनुहुन्थ्यो भने अब हजार, १२ सय क्यालोरी हुन्छ। सागपात र फलफूल बढाउनुपर्ने भयो। त्यसले क्यालोरी इन्टेक पनि कटाउँछ। माछा, मासु र जंक फुड खाने बानी घटाउनु पर्छ। प्रोसेज गरेको खानेकुरा पनि खानुभएन। चिया, कफीको मात्रा पनि घटाउनु पर्‍यो।

अरू केही सुझाव छ कि !

महिलाले ४० वर्ष कटेपछि आफ्ना लागि आफैले सोच्ने बेला भयो। वर्षको एकपटक कम्तीमा अस्पताल गएर आफ्नो स्वास्थ्य परीक्षण गराऔं। आफ्नो जीवनशैली बदल्नुपर्‍यो। योगाभ्यास गर्ने, सामाजिक गतिविधिमा सहभागी हुने, क्यालोरी इन्टेक कम गर्ने। त्योसँगै पानीको मात्रा बढाउने। केही समस्या भयो भने स्त्रीरोग विशेषज्ञलाई भेट्नुपर्छ। वेलैमा उपचारका लागि आए वेलैमा निदान गर्न सकिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.