|

विराटनगर : साहित्य क्षेत्रमा रुचि राख्ने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुबेर खापुङ कवि र गीतकार पनि हुन्।

रुचि एउटा, पेसा अर्कै तर पनि देशको शान्ति, सुरक्षासँगै साहित्य क्षेत्रलाई एउटै रफ्तारमा लिएर दौडिरहेका छन्।

छरिएका भावनाहरू शब्दमार्फत समेट्छन्। अनि साहित्यको एउटा सुन्दर स्वरूप दिन्छन्। ‘खै कसरी फुर्छ ? कहिलेकाँही आफैँ फुर्छ शब्दहरू थाहै पो पाउँदिनँ’, ठट्यौली पाराले हाँस्दै सुनाउँछन्।

भर्खरै ‘अजम्बरी जीवन होइन’ डिआइजी खापुङको शब्द रचनामा रहेको गीत सार्वजनिक भएको छ। आलोक श्रीको संगीत र गायक उदय सोताङको स्वरमा रहेको गीत उनले आफ्नो स्वर्गीय दाइको स्मृतिमा लेखेको बताउँछन्।

‘मेरो जेठा दाइ ब्रिटिस लाहुरे हुनुहुन्थ्यो।’ उनी स्व. दाइलाई स्मरण गर्दै भन्छन्,‘दाइको मृत्युपछि उहाँको सम्झनामा मैले गीत लेखेको हो।’

समय, परिस्थिति र परिवेशलाई एउटा संगीत र साहित्यको धागोमा बुनेर सुन्दर आकार दिन सक्ने कमैको मात्रै खुबी हुँदो हो। उनी लेख्ने कलालाई माङ ( लिम्बू भाषामा भगवान) ले दिएको वरदान ठान्छन्।

‘मैले कहिल्यै संगीत सिकिनँ, म आफूलाई खतरा कवि अनि गीतकार भनेर भन्दिनँ,’ उनी हाँस्दै सुनाउँछन्,‘ यो जन्मिँदै बरदान लिएर आए छु भन्ने चाहिँ लाग्छ ’

समयको रफ्तारसँगै पेसा र रुची अब उनको जीवनमा अमूल्य पाटो बन्न थालेको छ।

कविता होस् या गीत एक–एक लाइन कोर्दै सामाजिक सञ्जाल फेसबुकमा ‘हाइड’ गरेर राख्ने उनको बानी छ। कहिले पालम, ख्याली लेख्छन् त कहिले प्रेमिल कविता कोर्न भ्याउँछन्।

त्यसो त करियर बनाउने उर्जाशील उमेरमा साहित्यकार बनौँला या नेपाल प्रहरीको अधिकृत बनौँला भन्ने उनले कल्पना समेत गरेका थिएनन्। हुन त, पूर्वी पहाडी जिल्ला त्यसमा पनि लिम्बू समुदायमा हुर्कँदै गरेको तन्नेरी छोराहरूले लाहुरे  बन्ने सपना देखेकै हुन्छन्।  तर, पढोस्, नेपालमै केही गरोस् भन्ने बुवाको सपना र विचारले पनि जीवनको कुनै कालखण्डमा लाहुरे बन्ने हुटहुटी उनी भित्र जागेन।

उनी हाँस्दै विगत सुनाउँछन्,‘मैले त यो संयोगले पाएको जागिर हो।’

कुनै समय पनि तपाईंलाई लाहुरे बनौँ भन्ने ख्याल आएन? प्रश्नलाई मुस्कानले छिचोल्दै उनले भने,‘अहँ आएन, दाई नै लाहुरे हुनुहुन्थ्यो, बुवाले सधैँ पढ भनेर प्रेरणा दिनुभयो, त्यो भएर पनि होला मलाई त्यस तर्फ खासै चासो लागेन।’

तेह्रथुम जिल्लाको मोराहाङमा जन्मेका डिआइजी खापुङ अहिलेका पुस्तालाई पनि नेपालमा नै पढेर केही गर्नुपर्छ भन्दै प्रेरित गरिरहेका हुन्छन्। सामान्य जीवनशैली बाँच्न रुचाउने उनी महत्वाकांक्षा कम राख्न सके जीवन जिउन सहज हुने बताउँछन्।

प्रहरीमा निवेदन नदिएको हुँदो हो त यतिबेला उनी शाखा अधिकृत भएर कुनै कार्यालयमा कार्यभार सम्हालिरहेका हुन्थे होलान्। किनकि उनलाई प्रहरी बन्नु थिएन, या भनौँ उनले प्रहरी पेसामा आबद्ध हुन्छु भन्ने कल्पना गरेका पनि थिएनन्। उनी त लोकसेवा आयोग मार्फत शाखा अधिकृतको तयारीमा लागिरहेका थिए। तर , साथीहरूको भनाइअनुसार उनले प्रहरी निरीक्षकको पदमा निवेदन दिएका थिए। प्रहरी पेसा सोर्स फोर्सले मात्रै चल्छ भन्ने छुट्टै मानसिकता बनाएर बसेका त्यो समयको चन्द्रकुबेर खापुङले अनुभवका लागि मात्रै प्रहरी निरीक्षकमा निवेदन दिएको सुनाउँछन्।

‘साथीहरूले प्रहरीमा भर्ना खुल्यो भनेर सुनाए। इन्सपेक्टरमा निवेदन दिऊँ न त भन्दा मैले प्रहरीमा सोर्स फोर्सको भरमा चल्छ अरे, हामीले कसलाई भेट्न जाने भनेको थिएँ,’ उनले विगत सुनाउँदै भने,‘तर, साथीले अनुभवको लागि दिऊँ भनेर निवेदन दिएको हो।’

बिरामी भएर जबर्जस्ती प्रहरी निरीक्षकको परीक्षा दिन गएको विगत सुनाउने डिआइजी खापुङ जीवनको हरेक परीक्षा संयोगले नै पास गर्दै आएको बताउँछन्।  प्रहरी अधिकृत हुनुमा पनि कहीँ कतै संयोग नै जोडिएको उनी बताउँछन्।

आफू विभागमा प्रवेश गरिसकेपछि लगनशीलता, मिहिनेत र धैर्यता भए जागिर खान कुनै पनि सोर्सको आवश्यकता नपर्ने उनी सुनाउँछन्।

जीवनसँग कुनै गुनासो नरहे पनि बुवाको मृत्यु मनमा गुनासो झैँ गाडिएर बसेको सुनाउँछन्।

‘प्रहरी निरीक्षकको परीक्षामा पास हुन्छ भन्ने बुवाको त्यो ‘कन्फिडेन्ट’ पनि मेरो सफलताको एउटा पाटो रहयो होला।,’ उनी भन्छन्, ‘तर, नियुक्त हुँदै गर्दा बुवाको मृत्यु भयो। उहाँले म इन्सपेक्टर भएको देख्न पाउनुभएन। यो कुराले चाहिँ कहिलेकाहीँ जीवनमा एउटा गुनासो रह्यो जस्तो लाग्छ।’

२०५२ सालबाट प्रहरी पेसामा आबद्ध भएका उनी माओवादी द्धन्द्ध कालको समयमा गोली लागेर घाइते पनि भएका थिए। जीवन र मृत्युलाई नजिकबाट नियालेका उनी आफूले बेहोरेको हरेक क्षणलाई अवसरको रुपमा लिएको सुनाउँछन्।

त्यही द्धन्द्धको समयले गर्दा पनि वैवाहिक बन्धनमा बाँधिन ढिलाई भएको हुन सक्ने उनी सुनाउँछन्।  ढिलै विवाह भए पनि बुझ्ने जीवनसाथी पाउँदा त्यो ढिलो भएको समय पनि एउटा सुन्दर अवसर रहको बताउँछन्।

अन्तरजातीय विवाह बन्धनमा बाँधिएका डिआइजी खापुङको श्रीमती पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) भावना श्रेष्ठ हुन्। सँगै ‘मिसन ’ जाँदा भावनासँग भेट हुने अवसर जुरेको रहेछ। त्यही भेटघाट बिस्तारै पे्रमिल बन्दै गयो।

‘प्यार किया नही जाता हो जाता हे।’ हिन्दी गीतको एक हरफ सुनाउँदै उनी श्रीमती भावनासँगको पहिलो भेटघाटलाई स्मरण गर्छन्।

त्यसो त उनले विवाह गर्दासम्म खापुङ परिवारमा अन्तरजातीय विवाहमा ‘स्ट्रिक’ भए पनि उनको विवाहसँगै अन्य दाजुभाइलाई पनि अन्तरजातीय विवाह गर्ने बाटो खुलेको सुनाउँछन्।

समाजमा अन्तरजातीय विवाह गर्नुहुन्न भन्ने मान्यतालाई आफ्नो विवाहले परिवर्तनको मार्गमा लग्न सक्यो भन्ने पनि महसुस भएको उनी ठट्टा गर्दै सुनाउँछन्।

,‘मेरो चाँही ढिला विवाह भयो भनेर परिवार आजित भएकाले जो बिहे गरे पनि आमा खुशी हुनुहुन्थ्यो। उनी सुनाउँछन्,‘ तर, मेरो अन्तरजातीय विवाहले खापुङ परिवारमा बाटो खुल्यो भन्ने महसुस भएको छ।’

२०६४ सालमा विवाह बन्धनमा बाँधिएका डीआईजी खापुङ र श्रेष्ठ एकअर्काको सुख , दुख बुझ्न सकेकाले पनि सम्बन्धको जंघार सहजै तर्दै आएको अनुभव सुनाउँछन्।

सम्बन्ध बलियो बनाउन एकले अर्काको दुःख र सुख दुबै पाटोलाई सम्हाल्न र समेट्न जरुरी रहेको उनी बताउँछन्।

कहिले श्रीमतीको सम्झनामा त कहिले छोराका लागि कविता कोर्न भ्याउने डीआईजी खापुङ जागिरे दौडाहामा भेटिएका सेवाग्राहीको भावनालाई समेत गीत मार्फत समेट्ने जमर्को गर्छन्। उनले गफैगफमा मोबाइलको स्कृन हेर्दै गीतका केही हरफ सुनाउन भ्याए।

म नदी बगिरहन्छु, मेरो लक्ष्य सागर

तिम्रो मलाई चासो छैन

 भो भो मेरो चिन्ता नगर।

सम्बन्धबिच्छेद पछि पनि श्रीमानले दुःख दिएर प्रहरी समक्ष धाउँदा, धाउँदा आजित बनेकी एक महिलाको भावनालाई कल्पना गर्दै एकएक शब्द जोडेर उनले गीत सृजना गरेका रहेछन्।

मनमा उब्जिएका भावनाहरूलाई समेटेर सुन्दर रचना रच्न सक्ने खापुङ ख्याल ख्यालैमा म पनि गीतकार पो बनेँ कि क्या हो ? खित्का छोडेर हाँस्दै ठट्टा गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.