|

काठमाडौं : मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले श्रमाधान रोजगार मेला– २०८१ सञ्चालन गरिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक विज्ञप्ती निकालेर यही जेठ १७ गतेदेखि ३० गतेसम्म विभिन्न मितिमा सातै प्रदेशमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो।

मेलाले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुका साथै मुलुकभित्रै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ। 

मेलाले रोजगारीको खोजीमा रहेका विविध क्षेत्रका युवालाई रोजगारदातासँग जोड्न, उद्यमशीलता तथा स्वरोजगराका कैयौँ अवसरबारे जानकारी लिन, रोजगारी खोज्नेहरूबीच नवप्रवर्तनस्वव्यवसाय विकासलाई प्रवर्द्धन गर्न कोशेढुंगा सावित हुने मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले बताए।

उनका अनुसार कोशी प्रदेशमा विराटनगरस्थित सिटी प्यालेसमा १७ र १८ गते, जनकपुरधामस्थित एफ्एन्सिसीआईको हलमा १९ र २० गते मेला सञ्चालन हुनेछ।

त्यस्तै, पोखरास्थित प्रदर्शनी केन्द्रमा २१ र २२ गते, बुटवलस्थित बिआइसीसीमा २३ र २४ गते, सुर्खेतस्थित सिटी हलमा २५ र २६ गते, धनगढीस्थित ओम पार्टी प्यालेसमा २७ र २८ गते तथा ललितपुरस्थित पाटन क्याम्पसमा २९ र ३० गते श्रमाधान रोजगार मेला सञ्चालन गरिने तय भएको छ।

कार्यशाला, मनोपरामर्श लगायतका विविध विषय, सरकारी, निजी, गैरसरकारी क्षेत्रका विभिन्न निकायहरुको श्रम, रोजगार तथा सामाजिक सुरक्षासँग सम्बन्धित स्टलहरु रहने मेलामा सहभागी हुन रोजगारदाता र जागिरको खोजीमा रहेका व्यक्तिले अनलाइन  आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.