|

न्यूयोर्क : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सेनाका भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गरेका छन्।

अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा  महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको यो पदक संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गरे।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवंगत भएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उनी शान्ति स्थापनामा खटिएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गरे।  गत अक्टोवर १३ मा कङ्गोमा राईको निधन भएको थियो। 

सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका रूपमा मनाइने गरेको छ ।  

नेपाल राष्ट्रसंघीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो। छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.