विपद् व्यवस्थापन गर्न गृहमन्त्रीको निर्देशन

|

काठमाडौं : प्राकृतिक विपत्तिबाट पछिल्लो एक महिनामा ३२ जनाले ज्यान गुमाएका छन्। यो अवधिमा प्राकृतिक विपत्तिका ५ सय ५७ वटा घटना भएका छन्।

जसमा सबैभन्दा धेरै आगलागीका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार प्राकृतिक विपत्तिबाट देशभर करिब ३ करोड ५१ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

विपत्तिबाट करिब ९९ जना घाइते भएका छन्। पछिल्लो एक महिनाको तथ्यांकमा कति घटना भए? कुन विपत्तिमा कति क्षति भए? विस्तृतमा :

आगलागी

देशभर ३ सय ८२ स्थानमा आगलागीका साना ठूला घटनाहरू भएका छन्। उक्त घटनामा १० जनाको मृत्यु भएको छ।  ३ करोडको क्षति हुँदा  २ सय पूर्वाधारहरूमा क्षति पुगेको छ।

आगलागीमा २ सय ५ जीव जनावरले ज्यान गुमाउँदा २८ जना व्यक्ति घाइते भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

पहिरो

पछिल्लो एक महिनामा २१ वटा पहिरोका घटना भएका छन्। जसमा परी घाइते भएका छन्।

बाढी

यो अवधिमा  बाढीका १२ घटना भएका छन्। जसमा परी दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

चट्याङ

पछिल्लो समयमा चट्याङका घटना बढ्दै गएका छन्। प्राधिकरणका अनुसार एक महिनामा ६९ वटा घटना भएका छन्। जसमा परी १२ जनाको मृत्यु भएको छ। चट्याङले १० लाखको क्षति भएको छ। ११९ वन्यजन्तुको ज्यान जाँदा ५७ जना व्यक्ति घाइते भएका छन्।

भारी वर्षा

देशभर एक महिनाको अवधिमा भारी वर्षाका कारण १८ वटा घटना भएका छन्। जसमा ३ लाख ५० हजार क्षति भएको अनुमान गरिएको छ। एक भौतिक संरचना नष्ट भएको छ। १० जनावरले ज्यान गुमाएका छन्।

हावाहुरी

पछिल्लो एक महिनामा ५५ वटा हावाहुरीका घटना भएका छन्। ३८ लाख क्षति भएको छ। ८ वटा भौतिक संरचना नष्ट हुँदा २ जनाको ज्यान गएको छ। १२ जना व्यक्ति घाइते भएका छन्।

विपद्को पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुनेगरी विपद्को पूर्वतयारी गर्न र विपद्पछि पनि तत्काल राहत उपलब्ध गराउने प्रवन्ध मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

मन्त्रालयमा सोमबार भएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८१’ को मस्यौदामा भएको छलफलमा मन्त्री लामिछानेले जनताको ज्यान जोगाउनु सरकारको मुख्य दायित्व रहेको स्पष्ट पारेका थिए। उनले भनेका थिए,  ‘आपत्–विपद्‌मा नागरिकलाई अझ बढी सरकारको साथ चाहिन्छ। यो मनसुनमा हुने विपद्का घटनामा नागरिकले सरकारको पूर्ण अनुभूति गर्न सक्नुपर्छ, त्यहीअनुसार योजना बनाएर कार्यान्वयन गर्नुहोला।’

मन्त्री लामिछानेले राहत र उद्धारको लागि गृह मन्त्रालयको नेतृत्वमा ‘टास्क फोर्स’ बनाउन, जिल्ला–जिल्लामा ‘हेल्प सेन्टर’ स्थापना गर्न, जोखिमयुक्त पहिचान भएका ठाउँमा पूर्वसावधानीको सचेतनाका लागि जनशक्ति परिचालन गर्न, विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत गैरसरकारी निकायसँग समन्वय र उद्दारको पूर्वाभ्यास निरन्तर गर्न पनि आग्रह गरेका थिए। ‘आवश्यकता अनुसारको सहयोग सबैबाट लिनुपर्छ। तर, कम्तीमा १५ दिन थेग्ने स्रोत–साधन सरकारसँग हुनुपर्छ। विपद्का बेला प्रभावितबीच सबैभन्दा पहिला राज्य पुग्नुपर्छ’, गृहमन्त्री लामिछानेले भनेका थिए।

विपद् व्यवस्थापबारे नीतिगत निर्णय गर्नुपर्ने विषय भए तत्काल आफूसमक्ष ल्याउन आग्रह गर्दै मन्त्री लामिछानेले पूर्व तयारीसहित विपद् व्यवस्थापनमा स्थानीय सरकारसँगको पर्याप्त समन्वयमा पनि जोड दिएका थिए।

छलफलमा गृहसचिव एकनारायण अर्यालले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा तयार भएको कार्ययोजना एक साताभित्रै पारित गरेर कार्यान्वयनमा लैजाने जानकारी दिँदा सुरक्षा निकायका प्रमुखले विपद्का बेला सरकारी निकायबीचको समन्वय प्रभावकारी नहुँदा पनि समस्या आउने गरेको औँल्याएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.