|

भारतमा भएको लोकसभा चुनावको पूरै नतिजा सार्वजनिक भएको छ।  ​

५४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २४० सिटमा जित हासिल गरेको छ।

भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ। भाजपाका एक उम्मेदवार भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले २२४ सिटमा जित हासिल गरेको छ। 

काङ्ग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, तृणमूल काङ्ग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९  सिट, एनसीपी (सपा) ले ८ सिट जितेका छन्। 

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक बनारसबाट चुनाव जिते। कांग्रेस नेता राहुल गान्धीले रायबरेली र वायनाड दुवै ठाउँबाट जिते।

उत्तर प्रदेशमा भाजपालाई ठूलो धक्का लागेको छ। उसले अघिल्लो चुनावमा ६४ सिट जितेकोमा यो पटक ३३ सिटमा समेटिएको छ। समाजवादी पार्टीले यहाँ ३७ सिट जित्यो।

६ हप्तामा ७ चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।

भाजपा नेतृत्वको एनडिएबाट प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक सरकार बनाउने बताएका छन्। लोकसभा चुनावको नतिजापछि भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई  प्रधानमन्त्री मोदीले भने, ‘जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) लाई विश्वास गरेका छन्।’

उनले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको ६ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखे।

यो निर्वाचनमा केही चर्चित अनुहारले भाग लिएका थिए। उनीहरूलाई मतदाताले कति विश्वास गरे? हेरौँ केही यस्तै चर्चित अनुहार।

मनोजसँग पराजित भए कन्हैया

भारतीय राष्ट्रिय कांग्रेसका युवा नेता कन्हैया कुमार भारतीय जनता पार्टी (भाजपा) का मनोज तिवारीसँग पराजित भएका छन्।

उत्तरपूर्वी दिल्लीबाट चुनावमा उठेका कन्हैयाले ६ लाख ८५ हजार ६७३ मत ल्याए भने विजयी तिवारीले ८ लाख २४ हजार ४५१ मत ल्याए।

कंगनाको जित

भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितिन्।

भारतीय निर्वाचन आयोगका अनुसार कंगनाले ७४ हजार ७५५ मतको अन्तरले सिंहलाई हराएकी हुन्। कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २६७ मत पाए।

तृणमूल कांग्रेसका शत्रुघ्न सिन्हा विजयी

कलाकार शत्रुघ्न सिन्हा लोकसभाको सदस्यको चुनावमा विजयी भएका छन्। तृणमूल कांग्रेसका सिन्हाले आफ्ना निकटतम प्रतिद्वन्द्वी बिजेपीका एसएस अहलुवालियालाई ५९ हजार ५६४ मतको अन्तरले पराजित गरेका छन्। सिन्हाले ६ लाख ५ हजार ६४५ मत पाएका छन् भने अहलुवालियाले ५ लाख ४६ हजार ८१ मत पाएका छन्।

स्मृति इरानी पराजित

अमेठी लोकसभा निर्वाचन क्षेत्रबाट कांग्रेस उम्मेदवार किशोरीलाल शर्माले चुनाव जितेका छन्। शर्माले आफ्नो निकटतम प्रतिद्वन्द्वी भाजपाकी स्मृति इरानीलाई १ लाख ६७ लाख १९६ मतको अन्तरले हराए। चुनाव आयोगका अनुसार कांग्रेस प्रत्याशी किशोरीलाल शर्माले ५ लाख ३९ हजार २२८ मत र भाजपाकी स्मृति इरानीले ३ लाख ७२ हजार ३२ मत पाएकी छन्।

मथुराबाट हेमाको ह्याट्रिक

बलिउड अभिनेत्री तथा भाजपाबाट उम्मेदवार रहेकी हेमा मालिनीले लोकसभा जित्दै ह्याट्रिक गरेकी छिन्। मथुराबाट चुनाव लडेकी उनले ५ लाख १० हजार ६४ मत पाउँदा कांग्रेसका मुकेश धङ्गरले २ लाख १६ हजार मत प्राप्त गरे। यसअघि पनि दुई पटक उनी लोकसभामा निर्वाचित भएकी थिइन्।  

रवि किशनको जित

लखनऊबाट भाजपाबाट चुनाव लडेका कलाकार रवि किशनले पनि जित हात पारेका छन्।  समाजवादी पार्टीकी काजल निषादलाई पराजित गर्दै उनले जित हात पारेका हुन्। उनले  ५ लाख ८५ हजार ८३४ मत प्राप्त गर्दा काजलले ४ लाख ८२ हजार ३०८ मत ल्याइन्।

दिनेशलाल यादव पनि पराजित

कलाकार दिनेशलाल यादव निरहुवा पनि लोकसभामा पराजित भएका छन्। आजमगढबाट चुनाव लडेका उनी समाजवादी पार्टीका धर्मेन्द्र यादवसँग पराजित भएका हुन्। धर्मेन्द्रले ५ लाख ८ हजार २३० मत ल्याए भने निरहुवाले ३ लाख ४७ हजार २०४ मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.