|

काठमाडौं : सर्वोच्च अदालतसहित देशभरका न्यायालयलाई आफ्नै झण्डा र लोगो प्रयोग गर्ने बाटो खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुल कोर्ट) ले सर्वोच्च अदालत नियमावलीमार्फत अदालतले बेग्लै झण्डार लोगो प्रयोग गर्न पाउने बाटो खोलेको हो।

सोमबार बसेको फुल कोर्टले सर्वोच्च अदालत नियमावली–२०४९ लाई खारेज गर्दै स्वीकृत गरेको नयाँ नियमावलीमा यस्तो व्यवस्था गरिएको हो। फुल कोर्टले पारित गरेको नियमावली राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ।

हाल सर्वोच्चसहित देशभरका अदालतले कार्यालयमा राष्ट्रिय झण्डा र सरकारी छाप प्रयोग गर्दै आएको छ। नियमावली पारित भएसँगै अब सर्वोच्च अदालतले आफू र मातहतका अदालतका लागि राष्ट्रिय झण्डा र सरकारी छापका अतिरिक्त आफ्नै झण्डा र छाप प्रयोग गर्न पाउनेछ।

नियमावलीमार्फत सर्वोच्चले बिदाका दिन र कार्यालय समयभन्दा अतिरिक्त समयमा समेत इजलास चलाउन सक्ने व्यवस्था गरेको छ । प्रधानन्यायाधीशले चाहे कार्यालय समयभन्दा बाहिर र बिदाका दिनसमेत मुद्दाको पेसी तोक्न सक्ने नयाँ व्यवस्था नियमावलीमा समेटिएको छ।

त्यसैगरी शुक्रबार ३ बजेसम्म मात्र रहेको कार्यालय समय पनि नियमावलीमार्फत एक घण्टा बढाइएको छ । सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रारको पद सिर्जना भएपछि अदालतले मुख्य रजिस्ट्रारको काम, कर्तव्य र अधिकारसमेत उल्लेख गरेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.