|

काठमाडौँ : काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरूको पुनःनिर्माण दक्षिण पश्चिम भागबाट शुरू गर्ने निर्णय भएको छ।

मंगलवार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘लुमधी भद्रकाली मन्दिर परिसरका संरचनाहरूको पुनःनिर्माण सम्बन्धमा’ बसेको बैठकले पुनःनिर्माण हुने ठाउँहरू गुठी संस्थान र लुमधी भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय गरेको छ।

बैठकले सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ।

समितिका सदस्यहरूमा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, शहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्वअध्यक्ष गौतम डंगोल, पुरातत्व विभाग र गुठी संस्थानका प्रतिनिधि छन्।

समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राई छन्।

सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरूत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुनःनिर्माणमा सहजीकरण गर्नेछ।

बैठकले, मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्न पुरातत्व विभागलाई अनुरोध गर्ने, अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने निर्णय गरेको छ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निर्माण विभाग, शहरी व्यवस्थापन विभाग, पुरातत्व विभाग, वडाध्यक्षहरू, मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरू सहभागी थिए।

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। यसको पुनःनिर्माणको लागत अनुमान करिब ३६ करोड रूपैयाँ हो।

पुनःनिर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ। वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार निर्माण पक्षसँग ३४ करोड ८० लाख ७१ हजार रूपैयाँमा सम्झौता भइसकेको छ। यसको निर्माण अवधि ३ वर्ष हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.