|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा.आरजू राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको आरोप लगाएकी छन्। आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन्।

कर व्यवस्था तटस्थ र न्याय सम्मत हुनुपर्ने उल्लेख गर्दै सांसद राणाले बजेटलाई हेर्दा केही व्यापारिक घरानालाई कर छल्न सजिलो हुने नीतिहरु व्यवस्था गरिएको पाइएको जिकिर गरिन्। उनले आयकर ऐनको धारा ५७ (१) को प्रश्तावित प्रावधान आवश्यक नभएको भन्दै आपत्ति जनाइन्।

सांसद राणाले सरकारले ल्याएको बजेटसम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधार नै समाप्त पार्नसक्ने चेतावनी दिइन्।

उनले भनिन्, ‘कर व्यवस्था तटस्थ र न्यायसम्मत हुनुपर्छ। तर संसदमा प्रश्तुत बजेट र आर्थिक विधेयकका केही व्यवस्थाहरु हेर्दा विशेष व्यापारिक समूहहरुलाई प्रत्यक्ष टयाक्स छल्न सजिलो हुने नीतिहरु ल्याइएको हो कि जस्तो आभास भएको छ। आयकर ऐनको धारा ५७ (१)को प्रस्तावित प्रावधानमा मैले कुनै आर्थिक तथा प्रशासनिक तर्क देख्न सकेको छैन। यदि कुनै दफामा समस्या छ भने हामीले नियम र निर्देशिकामार्फत सच्याउन सक्छौँ। सो दफा नै संशोधन गर्न खोजेर निहित स्वार्थ पूरा गर्न खोजेको हो कि जस्तो शंका हुन गएको छ। सो दफाले निश्चित व्यापारिक घराना वा व्यापारीहरुलाई फाइदा पुर्‍याउन खोजेको हो कि जस्तो देखिन्छ।'

सांसद राणाले ठूला व्यापारिक प्रतिष्ठानहरुले कर छली गरेर त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्ने र कर संकलनको अभियानमा कठिनाइ हुनेतर्फ पनि सरकारलाई सचेत गराइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.